एक वर्षअघि खरिद गरेको सिमकोट गाउँपालिकाको गाडी बल्ल पुग्यो

जनता संवाददाता
२०८१ बैशाख १८ गते, मंगलवार

हुम्ला । हुम्लाको सिमकोट गाउँपालिकाले एक वर्ष अघि खरिद गरेको गाडी मंगलबार बिहान सदरमुकाम पुगेको छ । गाउँपालिकाको गाडी कर्णाली करिडोरको छारे सडक खण्डको भीर छिचोलिएपछि सदरमुकाम सिमकोट आज बिहान पुगेको हो ।

गाउँपालिका उपाध्यक्ष शुसिला रोकायाका अनुसार गाउँपालिकाको गाडी उत्तरी छिमेकी चीन भएर ल्याउन भनिएपनि समयमै नाका नखुल्दा नेपालगञ्जमा रहँदै आएको गाडी हप्तादिन लगाएर सिमकोट पुगेको हो । नेपालगञ्ज सुर्खेत हुँदै कर्णाली करिडोरको बाटो भएर गाडी चालक जोर बोहराले आज विहान सदरमुकाम सिमकोट पुर्याएका हुन् । गाउँपालिकाको गाडी चालक बोहरा सहित वडा नम्बर चारका वडाध्यक्ष प्रताप लामा र शिखर इन्स्योरेन्सका प्रमुख गोरासिंह बोहरा तीन जना नेपालगञ्ज सुर्खेत भएर सिमकोट पुगेका हुन् ।

छारे सडक खण्डको भीर छिचोल्न थोरै मात्रै बाँकी रहेपनि गाउँपालिकाको गाडी भएको हुनाले त्यस खण्डबाट आउन दिएको चालक बोहराले बताए । हुम्ला पुगेको गाडी उक्त खण्डबाट नछोड्दा खार्पु दोभानमा पानीको बहाव बढी बढ्ने भएकाले गाउँपालिकाको आग्रहमा सडक निर्माण गरिरहेको नेपाली सेनाले गाडी छोडेको हो । त्यस सडक खण्डमा अन्य कुनैपनि गाडीलाई आवतजावत गर्न दिएको छैन् । केही दिन अघि मात्रै दुईवटा ठूला टिपर सोही खण्ड भएर सिमकोट पुगेका थिए । त्यस लग्गतै दोस्रो पटक गाउँपालिकाको गाडी कर्णाली करिडोरको छारे सडक खण्ड भएर पुगेको हो । उक्त सडक खण्ड नेपाली सेनाले असार १५ गतेपछि मात्रै हस्तान्तरण गर्नुका साथै अन्य सवारी साधनलाई आवतजावत गर्न दिने भएको छ ।

सिमकोट र खार्पुनाथ गाउँपालिकाको बिचमा पर्ने कर्णाली नदीमा गाडी तर्न बेलीब्रीज नभएपनि नदीबाट गाडी तारेर लिइएको हो । बिहानको समय कर्णाली नदीमा पानी कम हुँदा गाडी चालक बोहराले सहज तरिकामा गाडीलाई नदी पार गरेर सिमकोट पुर्याएका हुन् ।

प्रकाशित मिति : २०८१ बैशाख १८ गते, मंगलवार


Scroll to Top

Janata Media