दर्ता नगरी चलाउने अस्पतालका सञ्चालक पक्राउ

जनता संवाददाता
२०८१ फाल्गुन १९ गते, सोमबार

रौतहट । रौतहटको चन्द्रपुर–४ चन्द्रनिगाहपुरमा लामो समयदेखि अवैधरूपमा अस्पताल सञ्चालन गर्दै आइरहेका एकजना सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

गत शनिबार मधेस प्रदेश सरकारका मुख्यमन्त्री सतिशकुमार सिंहले अनुगमन गर्दा दर्ता नै नभएको भेटिएको सिभिल हुम्यान एण्ड रिसर्च सेन्टर चन्द्रनिगाहपुरका सञ्चालक राजन साहलाई प्रहरीले सोमबार बिहान पक्राउ गरेको हो । सो अस्पताललाई मुख्यमन्त्री सिंहसहितको अनुगमन टोलीले अस्पताल दर्ता गरेर मात्रै सञ्चालन गर्न पत्र दिएको थियो ।

उक्त पत्रको अवज्ञा गरेर साहले अस्पताल खोलेको कारण सोमबार साहलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरीक्षक राजकुमार राईले जानकारी दिए । पत्रको अवज्ञा गरेर अस्पताल सञ्चालन गरेको कारण उनलाई पक्राउ गरेको डिएसपी राईले बताए ।

मुख्यमन्त्री सिंहले गत शनिबार चन्द्रनिगापुरका ११ वटा निजी अस्पतालको अनुगमन गरेका थिए । जसमा १० वटा अस्पताल दर्ता नभएका भेटिएका थिए । एघार वटामध्ये चन्द्रपुर अस्पताल प्रालिले मात्रै अस्पताल सञ्चालनको अनुमति लिएको भेटिएको अनुगमन समितिका सदस्य सचिव सन्तोष ठाकुरले जानकारी दिए ।

मुख्यमन्त्री सिंहसहितले अनुगमन गरेको हाइवे ट्रमा हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि, सिभिल हुम्यान एण्ड रिसर्च सेन्टर, पब्लिक लाइफ केयर पोलिक्लिनिक, एपोलो सिटी अस्पताल, चपुरसिटी अस्पताल, हिमालय पोलीक्लिनिक, चन्द्रपुर, सामुदायिक अस्पताल, नमस्ते डेन्टल क्लिनिक, चन्द्रपुर अर्थोपेडिक अस्पताल र चन्द्रपुर आँखा तथा दाँत उपचार केन्द्र अहिले बन्द अवस्थामा रहेको डिएसपी राईले जानकारी दिए । रासस

प्रकाशित मिति : २०८१ फाल्गुन १९ गते, सोमबार


Scroll to Top

Janata Media