विश्वकप टोलीमा नाम आउँदा आँसु आयो : अनिल साह

जनता संवाददाता
२०८१ बैशाख २३ गते, आईतवार

काठमाडौँ । नेपालका ब्याटर अनिलकुमार साहले आइसिसी टी–२० विश्वकपका लागि नेपाली टोलीमा आफ्नो नाम देख्दा आँसु आएको बताएका छन् । वेस्ट इन्डिजज ‘ए’ विरुद्ध पाँचौँ तथा अन्तिम खेलमा जित निकालेपछि पत्रकार सम्मेलनमा ब्याटर अनिलले उक्त प्रतिक्रिया दिएका हुन् ।

सो क्रममा उनले विश्वकपमा छनोट हुन पाउनु खुसीको क्षण रहेको र आफ्नो नाम देख्दा आँसु आएको बताए ।टोलीमा नाम देख्ने बित्तिकै घर परिवारसँग खुसी साटेको पनि उल्लेख गरे । साथै अनिलले अन्तिम खेलमा विकेट जोगाएर खेल्दा जित निकाल्न सकिन्छ भन्ने योजनाअनुरूप खेलेको बताए । उनले दोस्रो विकेटका लागि करिब एक सय रनको साझेदारी गरेका थिए ।

ब्याटिङमा डेप्थ रहेको उल्लेख गर्दै अनिलले पहिलो विकेट पतन भएसँगै समालिएर खेलेको बताए । सुरुमा आफ्नो ब्याटमा बल कनेक्ट हुन नसकेको र आसिफलाई क्रिजमा बढी समय बताउन दिएको उनको भनाइ थियो । शनिबार जितपछि ओपनर आसिफ सेखले आशा गरेअनुरूप नजिता नआए पनि अन्तिम खेलमा जितसहित विश्वकपमा जाने टोलीको लक्ष्य पूरा भएको प्रतिक्रिया दिए । उनले विश्वकप छनोटबाट विश्वकपमा स्थान बनाउनु नै आफूहरूको लागि यादगार क्षण रहेको उल्लेख गरे ।

विश्वकप अगाडि वेस्ट इन्डिजको टोली जस्तो टिमसँग खेल्न पाउनु पनि महत्त्वपूर्ण हुने उनको विश्वास छ । पत्रकार सम्मेलनमा तीव्र गतिका बलर सोमपाल कामीले आफ्नो लक्ष्य पूरा भएको उल्लेख गर्दै विश्वकप खेल्न पाउनुलाई भाग्यमानी रहेको प्रतिक्रिया दिए । साथै उनले जुनसुकै देशमा पुगे पनि नेपाली समर्थकको उत्तिकै साथ र समर्थन पाउने गरेको उल्लेख गरे ।

यस पटक विश्वकपमा पनि सोहीअनुरूप समर्थकको साथ पाउने विश्वास व्यक्त गरे । सोमपालले आयरल्यान्ड र वेस्ट इन्डिज जस्ता बलिया टोलीसँगको खेलबाट राम्रो एक्सपोजर पाएको र त्यसले विश्वकपमा पनि मद्दत पुग्ने आशा व्यक्त गरे ।

नेपाली टोलीले यस शृङ्खलाभर राम्रो बलिङ र ब्याटिङ गरेको पनि सोमपालले बताएका छन् । सिरिजको दोस्रो खेलमा एक सय ६० रनको लक्ष्य चेज गर्न नसक्नुको कारण नै सिरिज गुमाउनु परेको सोमपालको भनाइ छ । वेस्ट इन्डिज ‘ए’ का कप्तान रोस्टन चेजले छिट्टै विकेट हुँदा सोचेअनुरूप योगफल बनाउन नसकिएको उल्लेख गरे । उनले नेपाल पनि बलियो टोली रहेको र प्रशिक्षक मोन्टी देसाईबाट टोलीले राम्रो प्रशिक्षण पाएको उनले बताए ।

प्रकाशित मिति : २०८१ बैशाख २३ गते, आईतवार


Scroll to Top

Janata Media