आमाको मुख हेर्ने दिनमा आमाको आँखामा आँसु

जनता संवाददाता
२०८१ बैशाख २६ गते, बुधबार

काठमाडौं । आमालाई सम्मान गर्ने, माया–ममता दर्साउने तथा स्मरण गर्ने मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिनमा समेत छोराछोरी भेट्न नआउँदा आश्रममा रहेका आमाका आँखामा आँसु आएको छ ।

सन्तानको माया नपाएर आश्रममा बस्न बाध्य आमा आज सन्तान भेट्न आउँछन् कि भनेर बाटो हेरेर बसे पनि नआएपछि दुःखी भएकी हुन् ।

व्यास नगरपालिका–५ चापाघाट स्थित वेदव्यास ज्येष्ठ नागरिक आश्रममा आश्रित ७० वर्षीया विमला भट्टराईका आँखाभर आँसु थियो । पर्वले खुसी नदिई पीडा दिने गरेको उनले बताए ।

बुधबार परेको औँसीका अवसरमा छोरा र छोरी भेट्न आउँछन् कि भनेर बाटो हेरेको र नआउँदा पीडा भएको उनले बताए ।

भट्टराईले भने, ‘मैले छोराछोरीलाई दिनहुँ सम्झिएको छु तर उनीहरूले सम्झिएनन् ।’ भेट नभएको धेरै वर्ष भएकाले याद आइरहेको उनी बताउँछन् ।

छोरो गाउँमै र छोरी भारतमा काम गरेर बस्ने गरेको उनले जानकारी दिए । छोरो र छोरी आउँछन् कि भन्ने आशामा भट्टराई बाटोतिर हेर्दै बसेका थिए । चाडपर्वको समयमा भेट्न आए पनि आफ्नो मनको इच्छा पूरा हुने उनले बताए । चाडपर्वमा छोराछोरी र घरपरिवारको याद आइरहने भट्टराई बताउँछन् ।

व्यास नगरपालिका–६ साँगे सिरुवारीकी उमेरले ७० काटिसक्नु भएकी ठुली परियार आफ्ना छोराछोरी नभएको तर दिदीबहिनीका छोराछोरीले नसम्झिएको बताए ।

उनले भने, ‘आजको दिन मनका कुरा भन्ने, मिठो खाने, छोराछोरीले दिएको लुगाफाटो लगाउने इच्छा छ नि तर के गर्नु भाग्यले जुराएको रहेनछ ।’

श्रीमान् बितेपछि बूढीलाई हामी पाल्न सक्दैनौँ भनेर देवर तथा जेठाजुका छोराछोरीले भनेपछि आश्रममा आएको परियार बताउँछन् ।

आफ्नो सन्तान नहुँदा दुःख पाएको बताउँदै आफ्नो भाग्यमा नभएपछि चाडपर्व खल्लो हुने परिवारले बताए । परिवारले भने, ‘आफ्नो कोख बाँझै रह्यो मातातीर्थ औँसी मेरा लागि कहिल्यै आउँदैन, सन्तान हुनेले त आश्रममा बस्नुपरेको छ मेरो त झन् कोही छैन ।’

आश्रमकी कार्यवाहक अध्यक्ष शकुन्तला आलेले चाडपर्व बेलामा समेत सन्तानले नसम्झिँदा उनीहरूको सम्झनामा निकै नरमाइलो महसुस गर्ने गरेको बताए । हामीले उनलाई सन्तानको अभाव महसुस नहोस् भन्नको लागि चाडपर्वको बेलासँगै बसेर खाने, खुवाउने, कुरा गर्ने गरेको उनले बताए ।

आलेले भने, ‘पर्वका बेला दाताले फलफूल र मीठा मीठा खाना बोकेर आउने भए पनि आमाले छोराछोरीको सम्झनामा मुख निन्याउरो पाउँछन्, आँखाबाट आँसु झार्छन् ।’

कतिपयको सन्तान भएर पनि बेवस्ता गरेको र कतिपयका आफ्ना सन्तान नभएकोले आश्रममा आएको आश्रमले जनाएको छ ।

आमाको मुख हेर्ने दिन सन्तान भेट्न नआउँदा उनीहरू दुखी भएको आश्रमकी सचिव निर्मला मल्लले बताईन् । मल्लले भने, ‘सन्तान भएकाहरू घरबाट आमाको मुख हेर्न आउँछन् कि भन्ने ठुलो आशामा रहेका हुन्छन् । कोही नआएपछि उनीहरू निराश हुने गरेका छन् ।’

आश्रमकी सहसचिव सरूँ श्रेष्ठले आश्रित आमालाई न्यास्रोपन मेटाउनको लागि बिहान आएर उनीसँग बसेर मातातीर्थ औँसी मनाएको बताए । चावपर्वको समयमा पहिला उनलाई समय छुट्टाएर पछि घर तथा परिवारलाई समय दिने गरेको उनले बताए ।

बुधबार अधिकांश आमा गुमाउनेले आएर मिठा खानेकुरा खुवाएर मातातिर्थ औँसी मनाएको आश्रमले जनाएको छ । आश्रमका अनुसार वि.सं. २०७० साल वैशाख १ गतेदेखि आश्रम सञ्चालन ल्याइएको हो । हालसम्म २० जनाले सेवा पाउनु भएको छ भने दश जनाको निधन भइसकेको छ । हाल चार जना आमा आश्रित छन् । जन्मदिन, वैवाहिक वर्षगाँठ, पितृकार्य लगायतमा आश्रमलाई दाताले सहयोग गर्दै आएका छन् ।

महिलाले मिलेर आश्रम सञ्चालन गरेका हुन । आश्रमका ३३५ जना महिला आबद्ध छन् । ‘मन्त्र जप्ने ओठ भन्दा सेवा गर्ने हात पवित्र हुन्छ’, भन्ने नाराका साथ सुरुमा मुठीदानबाट महिला मिलेर आश्रम सञ्चालन गरिएको सचिव मल्लले जानकारी दिए ।

व्यास नगरपालिका–३ दमौली निवासी दीपक रानाले आमा निधन भएकोले आमाको न्यास्रो लागेर आश्रमका आमालाई फलफूल लिएर भेट्न आएको बताए । बुधबार आमाको मुख हेर्नेदिन आश्रमका आमालाई भेट्नेको भीड लागेको थियो ।

प्रकाशित मिति : २०८१ बैशाख २६ गते, बुधबार


Scroll to Top

Janata Media