एमालेको ६३ जिल्लामा सकियो अधिवेशन

जनता संवाददाता
२०८१ जेष्ठ २६ गते, शनिबार

काठमाडौं । सत्तारुढ नेकपा एमालेले हालसम्म देशका ६३ जिल्ला कमिटीको अधिवशेन गरी नयाँ नेतृत्व चयन गरेको छ । यही जेठभित्र सबै जिल्ला अधिवेशन सम्पन्न गर्न एमाले केन्द्रीय कार्यालयले जिल्लालाई निर्देशन दिएको थियो ।

एमालेको केन्द्रीय प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले इलाममा हालै उपनिर्वाचन सम्पन्न भएकाले अधिवेशन नभएको, तेह्रथुममा आन्तरिक विवाद भई सङ्गठन विभागले अध्ययन गरिरहेको र मोरङमा आयोजक कमिटी भर्खरै गठन गरिएको जानकारी दिए ।

शुक्रबार मात्रै रुपन्देही र नुवाकोटको जिल्ला अधिवेशन भएको छ । मधेस प्रदेशको सिरहा, सप्तरी, धनुषाको जिल्ला अधिवेशनको मिति तोक्न बाँकी छ ।

गण्डकी प्रदेशको मनाङ, कर्णाली प्रदेशको डोल्पा र सुदूरपश्चिम प्रदेशको अछाम, बझाङ र डोटी जिल्ला अधिवेशनको मिति तोक्न बाँकी रहेको एमालेले जनाएको छ ।

प्रकाशित मिति : २०८१ जेष्ठ २६ गते, शनिबार


Scroll to Top

Janata Media