अभियन्ताको नाममा बार्गेनिङ गरी रकम उठाउने ४ जना पक्राउ

जनता संवाददाता
२०८१ असार ४ गते, मंगलवार

काठमाडौं । आफूहरूलाई भ्रष्टाचार विरोधी अभियन्ता बताउँदै रकम असुलीमा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेको छ । गोकर्णेश्वर नगरपालिका क्षेत्रमा बार्गेनिङ गरी रकम असुलीमा संलग्नलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंले अभियन्ता भन्दै रकम असुलीमा संलग्न ३१ वर्षीय राजु सुनार, २६ वर्षीय आदर्श क्षेत्री, २० वर्षीय अस्मिता खत्री र ४५ वर्षका प्रेम प्रसाद श्रेष्ठलाई पक्राउ गरेको हो ।

आफूलाई भ्रष्ट्राचार विरोधी अभियन्ता बताउँदै उनीहरूले काठमाडौँको गोकर्णेश्वर नगरपालिका क्षेत्रमा कागजात माग्ने र रकम असुल्ने कार्य गरेको प्रहरीले बताएको छ । उनीहरूले ‘बेथिति एवं भ्रष्ट्राचार विरुद्धको अभियान, २०८०’ नामक संस्थासमेत खोलेर विभिन्न वडाहरूमा त्यसको शाखा कार्यालय समेत खोलेका थिए ।उनीहरूले विभिन्न सरकारी कार्यालय, स्थानीय निकाय, विद्यालय, संघसंस्था, निजी कम्पनी, कलकारखाना, टोल सुधार एवं उपभोक्ता समिति आदिमा गई आफूहरू भ्रष्ट्राचार विरोधी अभियन्ता रहेको र तिमीहरूको विरुद्धमा भ्रष्ट्राचार गरेको, कर छली गरेको, आर्थिक अनियमितता गरेको लगायतको उजुरी छ भन्दै धाकधम्की दिई रकम असुल गर्ने गरेको प्रहरीको दाबी छ ।

उनीहरूले आफूकहाँ उजुरी आएकाले छानबिन गर्न आएको भन्दै कागजात माग गर्ने, हिसाबकिताब माग गर्ने, कर्मचारीलाई धम्काउने, अख्तियार उजुरी र अदालतमा मुद्दा हालिदिने धम्की दिने समेत भनी भिडियो समेत बनाउने गरेका थिए ।

उनीहरूले पुष्टि नै नभएका विषयलाई सामाजिक सञ्जालमा पोष्ट गर्ने र भ्रष्टाचार तथा अनियमितता भएको लगायतका विषय प्रचार गर्ने समेत गरेको प्रहरीले जनाएको छ । उनीहरूका सम्बन्धमा उजुरी परेपछि प्रहरी वृत्त बौद्धले सोमबार उनीहरूलाई पक्राउ गरेको हो ।

प्रकाशित मिति : २०८१ असार ४ गते, मंगलवार


Scroll to Top

Janata Media