सौर्य विमान दुर्घटना: मृत्यु भएका १७ जनाको शव आफन्तले बुझे

जनता संवाददाता
२०८१ श्रावण १२ गते, शनिबार

काठमाडौँ । सौर्य एयरलाइन्सको विमान दुर्घटनामा परी मृत्यु भएका १७ जनाको शव आफन्तले बुझेका छन्।

विमान दुर्घटनामा मृत्यु भएका १८ मध्ये आज साँझसम्म १७ जनाका आफन्तले शव बुझेको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए।

उनका अनुसार मृतक एक विदेशीको प्रक्रिया पुर्‍याएर शव व्यवस्थापन गरिनेछ। त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा शव शवपरीक्षणपछि शुक्रबार र शनिबार आफन्तले शव बुझेका हुन्।

शुक्रबार पाँचजना र आज १२ जनाले शव बुझेका हुन्। यही साउन ९ गते बुधबार सौर्य एयरलाइन्सको विमान उड्ने बित्तिकै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा दुर्घटनाग्रस्त हुँदा विमानमा सवार चालक दलका सदस्यसहित १९ जनामध्ये १८ को मृत्यु भएको थियो।

सोही दुर्घटनामा क्याप्टेन मनिषरत्न शाक्य बाँच्न सफल भएका छन्। दुर्घटनामा घाइते क्याप्टेन शाक्यलाई तत्काल उद्धार गरी सिनामङ्गलस्थित काठमाडौं मेडिकल कलेजमा ल्याई सघन उपचारकक्षमा उपचार गरिएको थियो।

अहिले उनको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले विज्ञप्तिमार्फत जनाएको छ।

प्रकाशित मिति : २०८१ श्रावण १२ गते, शनिबार


Scroll to Top

Janata Media