रिहा भएपछि कमल थापाले भने- प्रहरीले बुटले हान्यो, घिसार्दै लग्यो

जनता संवाददाता
२०८२ जेष्ठ १९ गते, सोमबार

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाले आइतबारको प्रदर्शनमा प्रहरीले आफूमाथि अमानवीय व्यवहार गरेको र बुटले हिर्काउँदै घिसारेर पक्राउ गरेको बताएका छन्।

प्रहरी हिरासतबाट रिहा भएलगत्तै पत्रकार सम्मेलन गर्दै उनले सरकारको दमनले आन्दोलन नरोकिने बरु अझ उचाइमा पुग्ने चेतावनी दिए।

आइतबार बालुवाटारतर्फ जाने क्रममा ठूलो संख्यामा तैनाथ प्रहरीले आफूहरुलाई रोकेको र अगाडि बढ्न खोज्दा अकस्मात लाठीचार्ज भएको उनले सुनाए।

उनका अनुसार, लाठी प्रहारबाट राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसमेत घाइते भएका थिए। आफूले स्थितिलाई संयमित बनाउन खोज्दा एक प्रहरी जवानले पटकपटक आफ्नो खुट्टामा बुटले हिर्काएको र कसले हानेको भनी सोध्दा अचानक कठालोमा समातेर लडाउँदै घिसारेर भ्यानमा हालिएको उनको भनाइ थियो।

अध्यक्ष थापाले गत जेठ १५ गतेदेखि नै आफूहरूले शान्तिपूर्ण आन्दोलन गर्ने प्रतिबद्धता जनाएको र सोहीअनुसार कार्यक्रम भइरहेको जनाए।

हिजो ९शनिबार० दरबारमार्ग निषेधित क्षेत्र घोषित भएपछि आफूहरूले उक्त क्षेत्रमा नगई बालुवाटारमा कार्यक्रम गरेको र आज पनि सोही स्थानमा कार्यक्रम गर्न खोज्दा दमन गरिएको उनले स्पष्ट पारे।

‘सरकारले जुन किसिमको आज आन्दोलनमाथि दमन गर्‍यो, जुन किसिमको बर्बरतापूर्ण ढंगको व्यवहार गर्‍यो र एकदम अमानवीय ढंगबाट… म आफैं एउटा पार्टीको जिम्मेवार अध्यक्ष, दुई/दुई पटक, तीन/तीन पटक उपप्रधानमन्त्री, गृहमन्त्री भइसकेको व्यक्तिलाई जुन किसिमबाट अभद्र व्यवहार गर्ने, पक्राउ गर्ने र हाम्रा पार्टीका कैयौं कार्यकर्ता साथीहरूलाई आक्रमण गर्ने काम गर्‍यो, यसको म घोर भर्त्सना गर्दछु, निन्दा गर्दछु,’ थापाले भने।

उनले यस्तो दमनले आफ्नो आन्दोलन नरोकिने र सरकारले जति दमन गर्दै जान्छ, आन्दोलनको उचाइ स्वाभाविक रूपले अझ बढ्दै जाने र अझ बढी प्रतिबद्धताका साथ आफूहरू आफ्नो लक्ष्य प्राप्तिका निम्ति अगाडि बढ्ने दृढता व्यक्त गरे।

प्रकाशित मिति : २०८२ जेष्ठ १९ गते, सोमबार


Scroll to Top

Janata Media