काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जेनजी पुस्तालाई एमालेमा सामेल हुन आव्हान गरेका छन् । एमालेद्वारा ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ नाराका साथ सोमबार काठमाडौँमा आयोजित ‘घर फर्क राष्ट्रिय घोषणा सभा’ कार्यक्रममा उहाँले सो आह्वान गरेका हुन् ।
अध्यक्ष ओलीले भने, “साथीहरु, घर फर्क अभियानको थालनी गर्दै घर फर्केका छन् । सँगसँगै जेनजीका साथीहरु, कहिल्यै एमालेमा नभएका साथीहरु एमालेमा प्रवेश गरेका छन् । नेकपा (एमाले) अब कता जाँदैछ भन्ने कुराको संकेत गर्दैछ, यसको भविष्यको संकेत गर्दैछ । र म जेनजी भाइबहिनी, र युवा भाइबहिनीलाई एमालेमा सामेल हुन आग्रह गर्दछु । बाँकी साथीहरुलाई पार्टी प्रवेश गर्न आग्रह गर्दछु ।”
उहाँले मङसिर २७, २८ र २९ गते काठमाडौँमा हुने एमालेको महाधिवेशनमा सिधैँ नेतृत्व चयनको कार्यक्रम आयोजना हुने जानकारी दिए । गत भदौ २०, २१ र २२ गते ललितपुरको गोदावरीमा सम्पन्न भएको विधान महाधिवेशनमा सङ्गठनात्मक प्रस्ताव, विधान र राजनीतिक प्रस्तावमा विषयमा छलफल भइसकेको उनको भनाइ छ ।







