काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले युवाहरूलाई सरकारको भर पर्न आग्रह गरेका छन्।
शनिबार यूथ कनक्लेभ २०२४ समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकार केही गर्न बनेको दाबी गर्दै भर पर्न आग्रह गरेका हुन्।
‘अहिलेको सरकारसँग आस पनि गर्नु, भर पनि पर्नुस्, फरक पर्दैन। यो सरकारसँग भर पर्नुपर्छ,’ प्रधानमन्त्री ओलीले भने, ‘किनभने यो सरकार केही गर्नका लागि बनेको छ।’
उनले यो उमेरमा आफू देशमा परिवर्तन ल्याइछाड्न प्रधानमन्त्री बनेको समेत दाबी गरे। उनले भने, ‘म यो उमेरमा घस्रिनुपर्ने केही आवश्यकता थिएन। तर, देशमा परिवर्तन ल्याइछाड्ने उद्देश्यका लागि बन्दै छु।’
यस्तै प्रधानमन्त्री ओलीले स्वार्थी प्रवृत्ति बढेका कारण पनि समाज विकृतितिर गइरहेको बताए। ‘समाजमा मानिसले सामाजिक प्राणी भएर रहन सक्नुपर्छ। मानव जातिले समाजले तयार पारेको मूल्य मान्यताअनुसार चल्न सक्नुपर्छ,’ ओलीले भने।