काठमाडौं । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले १७ वर्षपछि पक्राउ गरेको छ । पर्सा जिल्ला विन्दवासिनी गाउँपालिका वडा नं. २ का ४९ वर्षीय (परिवर्तित नाम) लक्ष्मण चौरसिया वरै भन्ने लक्ष्मणप्रसाद चौरसिया १७ वर्षपछि पक्राउ परेका हुन् ।
उपत्यका अनुसन्धान कार्यालय काठमाडौंबाट खटिएको प्रहरी टोलीले वीरगन्ज महानगरपालिका–१६ बाट उनलाई बुधबार पक्राउ गरेको हो । काठमाडौं जिल्ला अदालतले उनलाई २०६९ कात्तिक २४ गते कर्तव्य ज्यान मुद्दामा दोषी ठहर गरी साविक मुलुकी ऐन ज्यान सम्बन्धी महलको १३९१० बमोजिम सर्वस्व सहित जन्म कैद ठहर गर्दै फैसला गरेको थियो।
प्रहरीका अनुसार प्रतिवादी लक्ष्मण प्रसाद चौरसिया समेतका चार जनाको समूहले २०६४ वैशाख २५ गते सोही ठाउँकै ढोडा मुखिया विनलाई दुई राउण्ड गोली प्रहार गरी हत्या गरेका थिए । यस घटनाका आरोपीतहरुलाई अदालतले दोषी ठहर गरिसकेको छ ।
दोषी ठहर भए पश्चात नेपालबाट भागी रक्सौल र भारतका विभिन्न ठाउँमा लुकीछिपी बस्दै गरेको भन्ने गोप्य सूचनाको आधारमा पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ पश्चात उनलाई सजाय कार्यान्वयनको लागि बिहीबार काठमाडौं जिल्ला अदालतमा पेस गरिएको छ ।







