काठमाडौं । पश्चिम मकवानपुरको मनहरीमा सोमबार भएको फरकफरक घटनामा दुई जना पुरुष घाइते भएका छन् । मनहरीमा चट्याङ लागेर र घरको छतबाट लडेर एक–एकजना घाइते भएका हुन् ।
आफ्नै बारीमा घाँस काटिरहेको अवस्थामा मनहरी–६ प्रतापपुरमा सोमबार दिउँसो चट्याङ लागेर ६० वर्षीया पदमा श्री लामा घाइते भएका छन् । एक्कासि चट्याङ लागेर घाइते भएका लामाको मनहरी अस्पतालमा उपचार पश्चात राती नै डिस्चार्ज भई घर गएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
त्यस्तै, मनहरी गाउँपालिका ८ सिमपानीमा सोमबार दिउँसो घरको छतबाट लडेर एकजना घाइते भएका हुन् । स्थानीय ५२ वर्षीय हिमलाल स्याङ्तान आफ्नै घरको तीन तला माथि छत सफा गर्ने क्रममा चिप्लियर भुँइमा लडेर घाइते भएका हुन् । प्रहरीका अनुसार घाइतेको शरीरको बिभिन्न भागमा भित्री चोट लागेको छ ।
घाइतेको उपचारको लागि मनहरी अस्पतालमा ल्याइएकोमा थप उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर चितवन रिफर गरिएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।