गुजरातमा मनसुनी बाढीका कारण २८ जनाको मृत्यु

जनता संवाददाता
२०८१ भाद्र १३ गते, बिहीबार

काठमाडौं । भारतको गुजरात राज्यमा भारी मनसुनी वर्षाले निम्त्याएको बाढीका कारण विगत तीन दिनमा कम्तीमा २८ जनाको मृत्यु भएको छ । मौसम विभागले पश्चिमी तटीय राज्यमा बिहीबार थप भारी वर्षा हुने चेतावनीसमेत दिएको छ ।

भारी वर्षाका कारण नदीको बहावहरू बढेका छन् भने नदी नजिक बसोबास रहेका ३० हजारभन्दा बढी मानिसहरू घर छोडेर सुरक्षित स्थानमा स्थानान्तरण भएका छन् ।

गुजरात सरकारले बुधबार १३ जनाको बाढीमा डुबेर मृत्यु भएको तथा बाँकीको घर वा रूखहरूले पुरिएर मृत्यु भएको जनाएको छ । इन्डियन एक्सप्रेसले राज्यभरी समाचार तयार पार्दासम्म बाढीका कारण ३५ जनाको मृत्यु भएको उल्लेख गरेको छ ।

स्रोतका अनुसार विपदबाट करिब एक हजार ८५६ जनालाई उद्धार गरिएको तथा राहत कार्यका लागि सेनाका अधिकारीहरू तैनाथ गरिएको छ । विपत्का कारण ऊर्जा तथा विद्युत सेवा प्रभावित हुँदा करिब एक हजार गाउँहरू विद्युतविहीन भएको जनाइएको छ ।

विपद् अधिकारीहरूले सार्वजनिक गरेको तस्बिर तथा भिडियोमा उनीहरूले बाढीमा फसेका मानिसहरूलाई बचाउनका लागि प्रयास गरिरहेको देखाइएको छ । विज्ञहरूले जलवायु परिवर्तनले मौसमको ढाँचा परिवर्तन गर्दा चरम मौसमी दुर्घटनाको सङ्ख्या बढाइरहेको जनाएका छन् ।

प्रकाशित मिति : २०८१ भाद्र १३ गते, बिहीबार


Scroll to Top

Janata Media