
काठमाडौैं । गत शनिबार रातिको वर्षापछि आएको बाढीपहिरोले रामेछापको मन्थली नगरपालिका–१३ को मिल्ती बजार क्षतिग्रस्त बनेको छ । मिल्ती बजारमा रामेछापतर्फ बनेका घर एकातिर खोलाले कटान गरेको छ भने अर्कोतिर माथिबाट पहिरो झरेर क्षति पु-याएको छ ।
रामेछाप र दोलखाको सिमाना भएर बग्ने मिल्ती खोलाको कटान र माथिबाट झरेको पहिरोका कारण मिल्ती बजार पूरै जोखिममा परेको छ ।
बाढीपहिरोको डरले अहिले स्थानीय साँझ पर्नेबित्तिकै अन्यत्र बस्न जाने र अधिकांशले सामानसमेत सारेको मिल्ती बजारमा किराना पसल सञ्चालन गर्दै आएका शिव भुजेलले बताए । उनले भने, “बाढीपहिरोको डरले बजारवासी साँझ नपर्दै बजार छाडिसक्छन् । दिउँसो पनि घर पहिरोले पुर्ला कि भन्ने डर छ । कोही सामान किन्न आयो भने डराई डराई पसलभित्र गएर सामान दिने गरेका छन् ।”
अकस्मात राति बाढी आएका कारण घरमा भएका कुनै पनि सामान झिक्न नपाएको बाढीपीडित हर्कमाया खड्काले बताए । उनले भने, “अकस्मात बाढी आयो । बाढीले पसल सखा पार्यो । रातको समयमा केही सामान निकाल्न सकिएन । त्यसबेला सामानभन्दा पनि ज्यान जोगाउन नै सकिँदैन कि भन्ने अवस्था बन्यो । अहिले पनि कुन बेला बाढी आउने हो भन्ने पिरलो छ ।”
रामेछाप उद्योग वाणिज्य सङ्घका सचिव यज्ञ सुवेदीले बाढीले मिल्ती बजारमा रहेको हर्कमाया खड्काको किराना तथा फेन्सी पसल, युवराज फुयाँलको फर्निचर तथा होटेल, देवेन्द्र मगरको खाजा घर, सरोज तामाङको फेन्सी तथा रेडिमेट पसलसहित घर पूर्ण रूपमा क्षति भएको बताए ।
पक्की पुल जोखिममा
मिल्ती खोलामा आएको बाढीले रामेछाप सदरमुकाम मन्थलीबाट दोलखा जोडिने मन्थली–खिम्ती–चरिकोट सडक अन्तर्गत मिल्ती खोलामा रहेको पक्की पुलमा क्षति पु-याएको स्थानीय शुव्रm मगरले बताए । उनले भने, “मिल्तीको पुलमा बाढीले क्षति गरेको छ । अहिले पनि अझै बर्सातकै समय रहेकाले समयमै सरोकारवालाको ध्यान जान नसके समस्या हुनसक्छ ।”
मिल्ती खोलाले खोला किनारमा धान खेत कटानसँगै देवीटार फाँटमा पानी लाग्ने कुलोमा पहिरोले क्षति पुर्योएको छ । बाढीपहिरोका कारण मिल्ती बजार, पक्की पुल तथा सडक उच्च जोखिममा रहेको बताउँदै त्यसको व्यवस्थापनका लागि प्रदेश र सङ्घ सरकारसँग उचित पहल गर्ने बागमती प्रदेश सभाका सदस्य आनन्द श्रेष्ठले बताए ।
श्रेष्ठले सो क्षेत्र सधैँका लागि जोखिमपूर्ण भएकाले त्यसको दीर्घकालीन व्यवस्थापनका बारेमा सोच्नुपर्ने बताए । उनले भने, “रामेछापको मन्थली नगरपालिका र दोलखाको मेलुङ गाउँपालिकाका जनप्रतिनिधि र स्थानीयसँग बसेर बजार स्थानान्तरणका बारेमा छलफल गरी दीर्घकालीन समस्याको समाधान खोज्नु अत्यावश्यक छ । सधैँ यस्तो जोखिम मोलेर बजार बसाउनु उपयुक्त हुँदैन । पुलको सुरक्षाका लागि पनि सडक डिभिजन कार्यालयसँग आवश्यक छलफल भइरहेको छ ।”