काठमाडौँ । नेकपा (एमाले) ले नेपाली कांग्रेससँग भएको संविधान संशोधनको विषयलाई अगाडि बढाउने भएको छ ।
च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा मङ्गलबारदेखि बसेको पोलिटब्युरो बैठकबारे सञ्चारकर्मीसँग कुरा गर्दै प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्रप्रसाद गौतमले सो कुरा बताए ।
गौतमले भने, “संविधान संशोधनको बारेमा जति पनि कुरा उठे, यसका सन्दर्भमा संविधान पुनरवलोकन गर्ने र पुनरवलोकनको आधारमा कहाँ–कहाँ संशोधन गर्ने ? त्यहाँ संशोधन गरेर अगाडि बढाउने भन्ने विषयमा नेपाली कांग्रेससँग भएको सहमतिलाई कार्यान्वयन गरेर अगाडि बढाउँछौं ।”
उनले कांग्रेस – एमालेबिच भएको सात बुँदे सहमति अनुसार गठन भएको सरकारलाई निरन्तरता दिने र परिणाममा पुर्याउने बताए ।
उनले भने, “सरकारको सन्दर्भमा अहिले नेकपा (एमाले) र नेपाली कांग्रेसका बिचमा भएका सात बुँदे सहमति अनुसार जुन सरकार बनेको छ, यो सरकारको निरन्तरता र यो सरकारलाई परिणाममा पुराउने । जुन उद्देश्यले यो सरकार गठन भएको छ, खासगरी मुलुकको आर्थिक अवस्थालाई एउटा लयमा फर्काउनका निम्ति भएका प्रयासलाई कमिटीले धन्यवाद दिएको छ ।”
‘राजनीतिक स्थिरता र अर्थतन्त्रलाई लयमा फर्काउने काम भयो’
उनका अनुसार प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले एमाले–कांग्रेसबिच सहमति गरेर स्थायीत्व, स्थिरता, अर्थतन्त्र लयमा फर्काउने विषयमा जनतालाई आश्वस्त बनाइएको विषयमा जोड दिएका छन् ।
यसैगरी, अध्यक्ष ओलीले सरकारले मुलुकमा राजनीतिक स्थिरता र अर्थतन्त्रलाई लयमा फर्काउने काम गरेको बताएका छन् ।
प्रधानमन्त्री ओलीले थोरै समयमा सरकारले नेपाली जनतालाई आश्वस्त गर्दै मुलुकमा राजनीतिक स्थायित्व र अर्थतन्त्रलाई लयमा फर्काउने काम गरेको दाबी गरेका हुन् ।
उनले सरकारले मुलुकमा विद्यमान अराजकता र अनुशासनहिनताको अन्त्य गर्दै विधिको शासनको पक्षमा दृढतापूर्वक उभिन चाहेको उल्लेख गरेको प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीको भनाइ उद्ध्त गर्दै एमालेका प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्रप्रसाद गौतमले बताए ।
प्रधानमन्त्री ओलीले सरकारप्रति नेपाली जनताको विश्वास बढदै गएको भन्दै त्यसलाई अझै उचाईमा पुराउन सरकार लागिपर्ने बताएको जानकारी दिए ।
बैठकमा प्रधानमन्त्री ओलीले मुलुकमा कुनैपनि खाले निरंकुश, अराजक, अनुशासनहीनता स्वीकार्य नहुने कुरा पनि बताएको उनले जानकारी दिए ।
बैठकमा एमाले महासचिव शंकर पोखरेलले एमाले बलियो राष्ट्रिय शक्ति भए पनि निर्णायक राष्ट्रिय शक्ति निर्माण गर्नुपर्नेमा जोड दिएको उनको भनाइ छ ।