सीमावर्ती बजारबाट नेपाली मजदुर पक्राउ : रिहाइको पहल गर्न सरकारसँग माग

जनता संवाददाता
२०८१ भाद्र २५ गते, मंगलवार

काठमाडौं । भारतीय वन विभागले काम गर्न गएका नेपाली मजदुरलाई पक्राउ गरेको छ।

सीमावर्ती भारतीय बजार चन्दन चौकीमा घर बनाउने काम गर्न गएका मजदुर कैलारी गाउँपालिका–३ का ७० वर्षीय सलेफु चौधरी र ३५ वर्षीय सोनु गिरीलाई वन विभागले पक्राउ गरेको हो । उनीहरुलाई पक्राउ गर्नुको कारणबारे यथेष्ट जानकारी प्राप्त हुन नसके पनि वन क्षेत्रमा पर्ने बजारमा घर बनाउन आएको भन्दै पक्रेर लखिमपुर पुर्याएको स्थानीयले जानकारी दिएका छन् ।

चन्दन चौकी बजार दुधुवा नेशनल पार्क क्षेत्रमा रहेको छ । सो बजारमा गुप्ता मिष्ठान भण्डारको घर बनाउन गएका दुवै मजदुरलाई भदौ १७ गते वन विभागले पक्राउ गरेको स्थानीय जीतबहादुर चौधरीले जानकारी दिए ।

पक्राउ गरेका दुवैलाई जनही नेपाली चार लाख रुपियाँ जरिवाना तोकेको बताइएको छ । वन विभागमा काम गर्ने शिवचरण रानाले दुवै कामदारलाई पक्रेको जनाइएको छ । रानाले सीमा क्षेत्रमा हिड्दा पनि पक्राउ गर्ने गरेको भन्दै स्थानीयले ज्यादती बढेको बताएका छन् ।

यसैबिच, कैलाली ३ बाट प्रतिनिधित्व गर्नु हुने संघीय सांसद् गंगाराम चौधरीले दुवै कामदारलाई रिहाइको पहल गर्न नेपाल सरकारलाई आग्रह गरेका छन् । सदनमा बोल्दै उनले घरको मालिकलाई पक्राउ गर्नु पर्नेमा भारतीय वन विभागले मजदुरलाई पक्रेर जरिवानासमेत तोकेका सदनलाई जानकारी गराए ।

प्रकाशित मिति : २०८१ भाद्र २५ गते, मंगलवार


Scroll to Top

Janata Media