कागेश्वरी धाममा लाखौँ भक्तजनको उपस्थिति

जनता संवाददाता
२०८१ भाद्र २७ गते, बिहीबार

काठमाडौँ । कागेश्वरी मनोहरा नगरपालिकाको वडा नम्बर-१ मा पर्ने ऐतिहासिक, धार्मिक र पर्यटकीय दृष्टिले महत्त्वपूर्ण मानिने कागेश्वरी महादेव मन्दिरमा लाखौँ भक्तजनले पूजा, आराधना एवं दर्शन गरेका छन् ।

शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जसँग जोडिएको कागेश्वरी महादेव मन्दिरमा प्रत्येक वर्ष भाद्र शुक्ल अष्टमीका दिन लाखौँ भक्तजनको भीड लाग्ने गर्छ । गत बर्ष चार लाख भक्तजनले पूजा, आराधना एवं दर्शन गरेका थिए । यस बर्सपनि सोहि संख्यामा भक्तजन आएको कागेश्वरी महादेव मन्दिर ब्यबस्थापन तथा पर्यटन विकास समितिले जानकारी दिएको छ ।

कागे अष्टमीसमेत भनिने यस मेलामा देशका विभिन्न भागबाट भक्तजन मन्दिरमा गई पूजा आराधना गर्छन् ।

भाद्र शुक्ल अष्टमीका दिन कागेश्वरी पुगेर पूजा आराधना गरेमा कागको स्पर्शबाट मुक्त भइने विश्वास छ । यसैले वर्ष दिनसम्म कागले स्पर्श गरेका मानिसले कागेश्वरीको दर्शन गर्नैपर्ने मान्यता राख्छन् । यसै अवसरमा कागेश्वरीमा हरियो मकै चढाएमा कागले बारीमा लगाएको मकै नखाने धार्मिक विश्वास रहेको छ ।

श्रावण शुक्ल पूर्णिमा अथवा गङ्गा दशहरा पर्वका अवसरमा रसुवाको प्रसिद्ध धार्मिकस्थल गोसाइँकुण्डमा पुगेका भक्तजनले त्यहाँबाट ल्याएको जल आज कागेश्वरीमा चढाउनुपर्छ भन्ने विधिसमेत रहेको छ । गोसाइँकुण्ड पुग्नेले कागेश्वरीमा आई आजका दिन जल नचढाए धार्मिक यात्रा पूरा नहुने जनधारणा रहेको छ ।

मन्दिर परिसरमा हाल दुई सय २७ किलोको अष्टधातुबाट बनेको कागको मूर्ति विशेष आकर्षणका रुपमा रहेको छ । यो नेपालकै ठूलो कागको मूर्ति हो । यहीँको लोकतान्त्रिक शहीद उद्यानमा एक हजार किलोको विश्वकै ठूलो कागको मूर्ति निर्माण भएको छ ।

यसै मन्दिरसमेतको नाम जोडेर कागेश्वरी मनोहरा नगरपालिकाको नामकरण भएको हो । यस पर्वका अवसरमा नगरपालिकाले प्रत्येक वर्ष भाद्र शुक्ल अष्टमीका दिन नगरपालिकाभर सार्वजनिक बिदा दिँदै आएको नगर प्रमुख उपेन्द्र कार्कीले जानकारी दिए ।

नामकरण भएदेखि नै मेलाको आयोजना नगरपालिकाले गर्दै आएको छ । मेलामा तामाङ एवं नेवार समुदायको सांस्कृतिक झाँकी प्रदर्शन गरिनुका साथै स्थानीय उत्पादनको समेत प्रदर्शन गरिएको छ ।

कागेश्वरीमा लाग्ने मेला भर्न काठमाडौँ उपत्यकाका तीन जिल्लाका साथै नजिकका नुवाकोट, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, रसुवा, दोलखा, रामेछाप, सिन्धुलीलगायत जिल्लाका मानिसको बढी भीड लाग्ने गरेको छ । देशका विभिन्न जिल्लाबाट आई काठमाडौँ उपत्यकामा बसोवास गर्ने मानिस पनि कागको स्पर्शबाट बच्न आजका दिन कागेश्वरी जाने गर्छन् ।

कागे अष्टमीका अवसरमा कागेश्वरी महादेव मन्दिर जान नसक्ने भक्तजले हनुमानढोकामा रहेको कागेश्वरी मन्दिरमा पूजा, आराधना एवं दर्शन गर्ने गरेका छन् । यस अवसरमा आज हनुमानढोकाको कागेश्वरी मन्दिरमा पनि पूजा, आराधनाका लागि भक्तजनको भीड लागेको थियो ।

कागेश्वरी मन्दिर क्षेत्रमा फागुन महिनामा पनि महोत्सव आयोजना हुन्छ ।

प्रकाशित मिति : २०८१ भाद्र २७ गते, बिहीबार


Scroll to Top

Janata Media