कोहलपुरमा क्यान्सर अस्पताल निर्माण सुरु

जनता संवाददाता
२०८१ भाद्र २९ गते, शनिबार

काठमाडौं । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल परिसर कोहलपुरमा क्यान्सर उपचारका लागि एक अर्बको लगानीमा छुट्टै अस्पताल भवन निर्माण कार्य सुरु गरिएको छ ।

मेडिकल कलेजले सो अस्पताल निर्माणका लागि शुक्रबार भवन शिलान्यास तथा भूमि पूजन सम्पन्न गरेर शनिबारबाट निर्माण सुरु गरेको हो ।

यसअघि शिलान्यास कार्यक्रममा बोल्दै मेडिकल कलेजका सञ्चालक कुमारप्रसाद अर्यालले एक अर्बभन्दा बढी लगानीमा क्यान्सर अस्पताल निर्माण सुरु गरिएको बताउँदै अब बाँके मै क्यान्सरको अतिनै गुणस्तरीय उपचार हुने जनाए ।

उनले सो अवसरमा पश्चिम नेपालकै सर्वोउत्कृष्ट भवन निर्माणसँगै गुणस्तरीय र प्रभावकारी सेवा दिने प्रतिबद्धता पनि व्यक्त गरे ।

सञ्चालक अर्यालले थपे, ‘‘शिक्षण अस्पताल कोहलपुरबाट हाल पनि क्यान्सरसम्बन्धी रोगको सेवा दिइरहेका छौं, अब त्यसलाई छुट्टै भवनबाट एकीकृत रुपमा विशिष्ट सेवा दिने छौं ।’’

निर्माण सुरु गरिएको भवनबाट अबको दुई वर्ष भित्रमै बिरामीलाई सेवा दिने गरी काम अघि बढाइएको नेपालगन्ज मेडिकल कलेजले जनाएको छ ।

नीजि क्षेत्रबाट पश्चिम नेपालमा पहिलो पटक यस क्षेत्रका विरामीहरुलाई सुविधा सम्पन्न ‘क्यान्सर अस्पताल’को निर्माण सुरु गरिएको लर्ड बुद्ध एजुकेसनल एकेडेमीका उपनिर्देशक श्यामकुमार शर्माले जानकारी दिए ।

उनले अस्पतालबाट गुणस्तरिय सेवा प्रदान गर्ने उद्देश्यका साथ कलेजको नेपालगन्ज शिक्षण अस्पतालमा आउँदो महिनादेखि मुटुरोगसम्बन्धी विशिष्टकृत सेवा, क्याथ ल्याब सेवा सुरु हुने तयारी रहेको बताए ।

प्रकाशित मिति : २०८१ भाद्र २९ गते, शनिबार


Scroll to Top

Janata Media