हामीविरूद्ध भयानक घेराबन्दी छ, कटिबद्ध भएर लाग्नु : प्रधानमन्त्री ओली

जनता संवाददाता
२०८१ भाद्र ३० गते, आईतवार

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गणतन्त्र, विकास, समृद्धि, शान्ति र सुशासनको व्यवस्थित मार्ग समातेको मुलुकलाई अगाडि बढ्न नदिने प्रयास भइरहेकाले निर्णायक राष्ट्रिय शक्ति निर्माणको यात्रामा कटिबद्ध हुन आग्रह गरेका छन् ।

नेकपा (एमाले) केन्द्रीय कार्यालयको आयोजना र जनसङ्गठन समन्वय संयन्त्रको व्यवस्थापनमा आयोजित ‘स्थानीय तहमा जनसङ्गठन सुदृढीकरण’ विषयक राष्ट्रिय कार्यशालाको आज बुढानीलकण्ठमा उद्घाटन गर्दै अध्यक्ष ओलीले अहिले पनि परिवर्तनको सारथि एमालेलाई कसरी कमजोर पार्ने भन्नेमा प्रतिक्रियावादीहरू लागिरहेको बताए ।

प्रधानमन्त्री ओलीले भने– अहिलेको परिस्थिति जटिल छ । हामीविरुद्ध भयानक घेराबन्दी छ । परिवर्तनका विरोधी शक्तिहरू संविधानविरुद्ध खुलेआम लागेका छन् । सामन्ती, निरङ्कुश र अधिनायकवादी राजतन्त्रका पक्षमा यसरी मान्छेहरू बेसरम उफ्रिएको पहिले कहिल्यै देखिएको थिएन । पदधारी होइन, आशाधारीहरू कराइरहेका छन् । जानी नजानी एक खालका मानिसहरूबाट नकारात्मक माहौल खडा गर्ने कोसिस भइरहेको छ । सत्य र तथ्यको बाटो नभई झुठ, भ्रम, षड्यन्त्र र तिकडमको सहारा लिएका छन् । उनीहरूलाई काम र मेहनत गर्नुपर्दैन, भएको राम्रो कामको निन्दा र उल्टो प्रचार गरे पुग्छ ।

आगामी निर्वाचनमा एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउन व्यापकरूपमा लाग्न आग्रह गर्दै अध्यक्ष ओलीले कार्यशालाबाट पार्टीका नीतिलाई अझ स्पष्ट र योजनाहरूलाई गतिशील बनाउँदै समस्याहरूको खोजी र निदान हुने अपेक्षा गरे ।

अध्यक्ष ओलीले सङ्गठनको आयतनसँगै घनत्व पनि बढ्नुपर्ने बताउँदै अहिले हाम्रो सङ्गठनभित्र सिथिलता, उदासिनता र जिम्मेवारीबोधको कमी र अलिकति इलुजन देखिएको छ भो । उनले आन्दोलनकारी प्रवृत्ति अत्यन्त घट्दो रहेको हुँदा त्यसमा ध्यान दिनुपर्ने बताए । अध्यक्ष ओलीले महाकवि लक्ष्मीप्रसाद देवकोटाको कविता ‘नलडी कोही हुन्न विजेता’ स्मरण गराउँदै विजयी हुन भ्रमविरूद्ध लड्नुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : २०८१ भाद्र ३० गते, आईतवार


Scroll to Top

Janata Media