दसैँमा १८ लाखले काठमाडौँ छाड्ने अनुमान

जनता संवाददाता
२०८१ आश्विन ९ गते, बुधबार

काठमाडौँ । यस वर्ष दसैँमा १५ देखि १८ लाख मानिसले काठमाडौँ उपत्यकाबाट बाहिरिने अनुमान गरिएको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले यस वर्ष दसैँमा मात्रै करिब १८ लाख मानिसले काठमाडौँबाट बाहिरिने अनुमान रहेको जनाएको छ । यो अघिल्लो वर्षको तुनामा धेरै हो । अघिल्लो वर्ष करिब १३ लाख सर्वसाधारण उपत्यकाबाट बाहिरिएका थिए ।

यसका लागि पाँच हजारदेखि छ हजार सार्वजनिक सवारीसाधन तयारी अवस्थामा राखिएको छ । सरकारले दसैँमा काठमाडौँ छाड्नेका लागि लक्षितगरी यही असोज १२ गते शनिबारदेखि अग्रिम टिकट काट्न पाइने निर्णय गरिसकेको छ ।

यसैगरी, काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता विश्वराज खड्काले दसैँमा आवतजावत गर्नेको सङ्ख्या बढ्ने हुँदा सम्भावित दुर्घटनालाई ध्यानमा राख्दै व्यवस्थापन प्रभावकारी बनाउने विषयमा छलफल भइरहेको बताए ।

“सडक राम्रो नहुनु, सवारीसाधनको चाप बढी हुनु, क्षमताभन्दा बढी यात्रु बोक्नु, हतारगरी यात्रु ओसारपसार गर्नु, बिग्रिएका सवारीसाधन सञ्चालन गर्नुलगायतका कारण दसैँमा दुर्घटनाको जोखिम बढी हुने गरेको छ”, उनले भने, “दुर्घटना रोक्न उपत्यका तीनै जिल्लाको सहकार्यमा एकीकृत सुरक्षा योजना तर्जुमा भइरहेको छ । दसैँमा सजकताका साथ जाँचमा कडाइ गर्ने योजना छ ।”

प्रकाशित मिति : २०८१ आश्विन ९ गते, बुधबार


Scroll to Top

Janata Media