आरोहण पर्खाइमा ५२ देशका आरोही

जनता संवाददाता
२०८१ भाद्र ३० गते, आईतवार

काठमाडौँ । यस वर्षको शरद ऋतुमा हिमाल आरोहणका लागि ५२ देशका आरोहीले अनुमति लिएका छन् । पर्यटन विभागका साहसिक पर्यटन तथा पर्वतारोहण शाखाका निर्देशक राकेश गुरुङका अनुसार मनासलु, पुथा हिउँचुली, अन्नपूर्ण चौथो, ठकर गो इस्ट, धौलागिरि पहिलो, फुङ्गी र कुम्भकर्ण हिमाल आरोहणका लागि ५२ देशका ३२९ जनाले अनुमति लिएका हुन् ।

उनले भने, “शरद ऋतुमा विभिन्न हिमाल आरोहणका लागि विभागबाट हालसम्म ३२ समूहका २४६ जना पुरुष र ३२ जना महिलाले अनुमति लिएका छन् । अनुमति लिनेमध्ये मनासलु मात्रै २५ समूहका २९० जनाले अनुमति लिएका छन् ।”

उनका अनुसार पुथा हिउँचुली आरोहण गर्न सात जना, अन्नपूर्ण चौथोमा पाँच जना, ठकर गो इस्टमा चार जना, धौलागिरि पहिलोमा १४ जना, फुङ्गीमा पाँच जना र कुम्भकर्ण हिमाल आरोहण गर्न दुई जना आरोहीले अनुमति लिएका हुन् । आरोहण अनुमतिबापत विभागले तीन करोड ७४ लाख ४३ हजार ९०५​ रुपियाँ हिमाली दस्तुर सङ्कलन भएको उनले बताए ।

हालसम्म आरोहण अनुमति लिनेमा सबैभन्दा बढी चीनबाट ५७, अमेरिकाबाट ३५, रसियाबाट ३०, बेलायतबाट २३, जापानबाट २३, चेक रिपब्लिकबाट १४, जर्मनीबाट १२ र काजाकिस्तानबाट १० जना आरोही रहेका छन् ।

मनासलु आरोहणका लागि गत वर्षको शरद ऋतुमा ३०१ जनाले अनुमति लिएका थिए । मनासलुमा गत वर्ष भदौ ३१ गते पहिलो आरोहण भएको थियो । किलर माउन्टेनको उपमा पाएको मनासलु आरोहणलाई सगरमाथा आरोहण गर्न जानुअघिका रूपमा लिइन्छ ।

शरद ऋतुलाई मनासलु आरोहणका लागि उपयुक्त मानिन्छ । मनासलु आरोहणका लागि बाटो बनाउने काम (रोप फिक्सिङ) को जिम्मेवारी पाएको सेभेन समिट ट्रेक कम्पनीले तेस्रो आधार शिविरसम्म बाटो बनाइसकेको विभागले जनाएको छ ।

यसैबिच सरकारले दसैँअघि नै आरोहणयोग्य नयाँ ५७ वटा हिमाल खुला गर्ने तयारी गरेको छ । हाल नेपालमा ४०१ हिमाल आरोहणका लागि खुला रहेका छन् । तीमध्ये २७ वटा हिमालको आरोहण अनुमति नेपाल पर्वतारोहण सङ्घले दिँदै आएको छ भने बाँकी हिमालको आरोहण अनुमति विभागले दिँदै आएको छ ।

विभागले वर्षमा मार्च, अप्रिल, मेमा पर्ने वसन्त र सेप्टेम्बर, अक्टोबर र नोभेम्बरमा पर्ने शरद ऋतुमा हिमाल आरोहण खुलाउने गरेको छ ।

प्रकाशित मिति : २०८१ भाद्र ३० गते, आईतवार


Scroll to Top

Janata Media