काठमाडौँ । नेपालमा एसियाका विभिन्न १६ वटा देशका निक्षेप तथा कर्जा सुरक्षण गर्ने निकायको भेला हुने भएको छ ।
शुक्रबारदेखि राजधानीमा सुरु हुने एसियाली देशका सुरक्षण संस्थाहरूको सम्मेलन (एसिक कन्फ्रेन्स) मा ती देशका सरकारी निकाय सहभागी हुने भएका छन् । ३६ औँ एसिक सम्मेलन नेपालले ३० वर्षपछि गर्न लागेको हो । सम्मेलन सोमबारसम्म चल्ने छ ।
निक्षेप तथा कर्जा सुरक्षण कोषको ५१ औँ वार्षिकोत्सव एवं एसिक सम्मेलन अवधिभर विभिन्न देशका निक्षेप तथा कर्जा सुरक्षण निकायले आ-आफ्नो देशको अनुभवसहित यस क्षेत्रका समसामयिक विषयमा सरोकारवालाबिच शुक्रबार गहन छलफल गर्ने कोषका प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरेले जानकारी दिए । यस पटक सम्मेलनमा नवप्रवर्तनको विषयलाई प्राथमिकतामा राखिएको उनले बताए । “आफ्नो नयाँ सोचलाई समेत धितोमा राखेर कर्जा लिन सकिन्छ भन्ने सन्देश दिने कोषको प्रयास छ,” उनले भने ।
सम्मेलनमा नेपाल, भारत, मलेसिया, इन्डोनेसिया, दक्षिण कोरिया, जापानलगायत १६ देशका सुरक्षण संस्थाको सहभागिता रहने छ । सम्मेलनमा छलफल सत्रलाई नेपालमा बहस गर्ने परम्परागत शैलीमा प्रदर्शन गर्ने कोषको तयारी छ ।







