रवि पक्राउ पर्ने हल्लापछि रास्वपा नेता तथा कार्यकर्ता छलफलमा

जनता संवाददाता
२०८१ आश्विन ७ गते, सोमबार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहितका नेता तथा कार्यकर्ताहरु अनौपचारिक छलफलमा जुटेका छन् ।

रास्वपाका केन्द्रीय सदस्य गणेश कार्कीले वनस्थलीस्थित केन्द्रीय कार्यालयमा अनौपचारिक छलफल भइरहेको जानकारी दिए ।

प्रहरीले आइतबार गोर्खा मिडियाका सञ्चालक तथा पूर्व प्रहरी नायब महानिरीक्षक (डिआइजी) छविलाल जोशीलाई पक्राउ गरेसँगै रास्वपाका नेताहरु छलफलमा जुटेको बताइएको छ । तर, उनले अहिलेसम्म कतैबाट औपचारिक जानकारी नआएको बताए ।

कार्कीले भने, “अनौपचारिक छलफलमा छौं । यी विषयमा सामान्य छलफल भएको छ तर हामीलाई आधिकारिक इन्फरमेसन कतैबाट पनि आएको छैन ।”

उनले सभापति लामिछानेका सन्दर्भको जिज्ञासामा आधिकारिक जानकारीको पर्खाइमा रहेको बताए ।

उनले भने, “पार्टीका सभापति, पूर्व गृहमन्त्री भाग्ने कुनै सम्भावना छैन । यस्तो अवस्थामा एउटा जनप्रतिनिधिलाई समातिहाल्छ भन्ने केही छैन । केही जानकारी दिन्छ होला भन्ने छ । त्यो जानकारी अहिलेसम्म आइसकेको छैन ।”

पार्टी कार्यालयमा अहिले सादा पोशाक र वर्दीका प्रहरीको बाक्लो उपस्थिति रहेको छ । पार्टीका नेता तथा कार्यकर्ताको उपस्थिति पनि बढेको छ ।

प्रकाशित मिति : २०८१ आश्विन ७ गते, सोमबार


Scroll to Top

Janata Media