काठमाडौँ । पर्साको जगरनाथपुर गाउँपालिकामा कथित बोक्सीको आरोपमा एक दलित महिलालाई निर्घात कुटपिट गरिएको छ । जगरनाथपुर गाउँपालिका–३ खलुचडी बस्ने ६० वर्षीय दलित महिला सुदामा देवी चमईनलाई कुटपिट गरिएको हो ।
उनको वीरगञ्ज स्थित नारायणी अस्पतालमा उपचार भईरहेको छ । महिलोको टाउको, गर्दन र शरीरको विभिन्न भागमा चोट लागेको अस्पतालले जनाएको छ ।
आईतबार साँझ घरमै घुर तापेर बसिरहेका बेला सुदामा देवीलाई छिमेकीहरुले नै कथित बोक्सीको आरोपमा कुटपिट गरेको दावी गरिएको छ । स्थानीय नबी आलम राउत गदी, रैफुल मास्टर राउत गदी, बासुदेव महरा चमार र सुरेश महरा चमारले मिलेर बोक्सीको आरोप लगाउँदै कुटपिट गरेको छोरा प्रभु महराले बताए ।
‘ म नयाँ वर्षको पिकनिक खान गएको थिँए, आमा घर अगाडि घुर तापिरहनुभएको थियो । छिमेकका चार जना मिलेर बोक्सीको आरोपमा कपाल समातेर बाँसको भाटाले हानेर कुटपिट गरेछन् । दाँत लागेपछि छोडेर भागेछन् ।’ उनले भने ‘ घटनाबारे सुनेपछि म आउँदा उनीहरु भागिसकेका थिए । प्रहरीको सहयोगमा आमालाई एम्बुलेन्समा राखेर नारायणी अस्पतालमा ल्याएर उपचार गरिरहेको छु ।’
दलित विपन्न परिवार भएकै कारण सुदामा देवीको परिवारलाई छिमेकीले हेप्ने गरेको स्थानीय बताउँछन् ।
भाडा वर्तनको विषयमा झगडा भएको प्रहरीको दावी
यता, प्रहरीले भने सुदामाको छिमेककै ४० वर्षीया विन्दा देवीसँग भाँडा वर्तनको विषयलाई लिएर झगडा भएको जनाएको छ । उनीहरु दुवै जना सामान्य घाइते भएको प्रहरीको भनाई छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरीले भने बोक्सी आरोप लगाएको भन्ने विषयमा आफूलाई जानकारी नरहेको बताए ।
‘मातहतको कार्यालयले भाँडा वर्तनको विषयलाई लिएर दुई जना महिलाबीच झगडा भएको भनेर सूचना दिएको थियो ।’ उनले भने ‘ बोक्सीको आरोप लगाएको विषयमा कुनै उजुरी वा आधिकारिक जानकारी आएको छैन ।’