बसले कारलाई ठक्कर दिँदा १० जना घाइते

जनता संवाददाता
२०८२ जेष्ठ ३१ गते, शनिबार

काठमाडौं । पूर्व पश्चिम राजमार्गको हेटौँडा उपमहानगरपालिका १५ स्थित डाइभरडाँडा सडकखण्डमा बसले कारलाई ठक्कर दिँदा १० जना यात्रु घाइते भएका छन् ।

शनिबार दिउँसो वीरगंजबाट हेटौँडातर्फ आउँदै गरेको ना ५ ख २९७० नं. को बस ब्रेक फेल भई विपरित दिशाबाट जाँदै गरेको अन टेस्ट कार र वीरगन्जबाट हेटौँडा तर्फ आउँदै गरेको ना ८ ख ४४० नं. ट्याङकरलाई समेत पछाडिबाट ठक्कर दिँदा उक्त दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कार्यालय मकवानपुरले जनाएको छ ।

दुर्घटनामा बसमा सवार चार र कारमा सवार छ गरी कुल १० जना घाइतेभएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

दुर्घटनामा घाइतेभएकाहरुको उद्वार गरी उपचारको लागी हेटौँडा अस्पताल ल्याइएको छ । घाइतेमध्ये छ जनाको अवस्था मध्यम र चार जनाको अवस्था सामान्य रहेको छ ।

प्रहरीका अनुसार घटनास्थल भन्दा करिब सय मिटर अगाडि रुखमा ठक्कर खाई बस रोकिएको र ट्याङ्करको पछाडि भागमा मात्र क्षति भएको छ ।

प्रकाशित मिति : २०८२ जेष्ठ ३१ गते, शनिबार


Scroll to Top

Janata Media