दसैँको मौसम कस्तो हुन्छ ? यस्तो छ पूर्वानुमान

जनता संवाददाता
२०८१ आश्विन २३ गते, बुधबार

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले बुधबार यसपालिको दसैँ विशेष मौसम बुलेटिन सार्वजनिक गरेको छ । बुलेटिनमा कोशी, मधेस र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ ।

उक्त बुलेटिनअनुसार यस वर्ष दसैँको सप्तमी (२४ गते), अष्टमी-नवमी (२५ गते) र दशमी (२६ गते) का दिनमा कोशी प्रदेश र मधेस प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहने जनाइएको छ ।

विभागले कोशी र मधेस प्रदेशका थोरै स्थानहरूमा बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक(दुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहने अनुमान गरेको छ ।

बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ । उक्त दिनहरुमा अधिकांश स्थानमा अधिकतम तथा न्यूनतम तापक्रम सरदरभन्दा थोरै घट्ने सम्भावना रहेको मौसमविद् रोजन लामिछानेले जानकारी दिए । उनले ठूलो पानी पर्ने सम्भावना भने नरहेको बताए ।

मौसम पूर्वानुमान महाशाखाबाट जारी गरिने तीनदिने मौसम पूर्वानुमानमा यससम्बन्धी जानकारी अद्यावधिक गरिने भएकाले महाशाखाको ‘वेबसाइट’ हेर्न अनुरोध गरिएको छ ।

यस वर्षको मनसुन हिजो मङ्गलबार देखिनै काठमाडौँ उपत्यकासहित कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका सम्पूर्ण भू-भागबाट बाहिरिसकेको छ ।

महाशाखाका अनुसार बागमती प्रदेशको पश्चिमी भू-भाग र मधेस प्रदेशका पश्चिमी भू-भागका थोरै स्थानबाट पनि मनसुन बहिर्गमन भएको छ। हाल कोशी प्रदेशलगायत मधेस र बागमती प्रदेशको पूर्वी भू-भागमा मनसुनी वायुको प्रभाव बाँकी छ ।

नेपालमा यही असोज २० गतेदेखि मनसुन बहिर्गमन सुरु भएको थियो । यस वर्षको मनसुन गत जेठ २८ गते भित्रिएको थियो।

प्रकाशित मिति : २०८१ आश्विन २३ गते, बुधबार


Scroll to Top

Janata Media