माओवादी पार्टीहरूको एकता चाडै टुङ्गोमा पुग्छः अध्यक्ष प्रचण्ड

जनता संवाददाता
२०८१ कार्तिक ३ गते, शनिबार

चितवन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी पार्टीहरूको एकतालाई चाडै टुङ्गोमा पुर्‍याउने बताएका छन् । माओवादी केन्द्रले चितवनको भरतपुर १३ मा बेपत्ता योद्धा दण्डपाणि न्यौपाने स्मृति भवन निर्माणार्थ आयोजना गरेको बृहत् जन सांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो प्रतिबद्धता व्यक्त गरेका हुन् ।

एउटै स्कुलिङबाट आएर अहिले विभिन्न भँगालोमा रहेका माओवादीहरू एकताबद्ध हुँदै समाजवादी क्रान्तिको तयारीमा लाग्नुपर्ने बेला आएको बताए । आफूहरू शान्ति सम्झौतामा आउँदा गणतन्त्रमा जाने सहमति भए पनि त्यसलाई जनताको गणतन्त्र बनाउने वा दलालहरूको गणतन्त्र बनाउने भन्ने विषयमा कुनै विन्दुमा पुगेर सङ्घर्ष हुन्छ भन्ने विश्लेषण गरिएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले अब त्यो विन्दु आएको बताए ।

अध्यक्ष प्रचण्डले आम जनतालाई एकताबद्ध गराउँदै समाजवादी क्रान्ति पूरा गर्ने बताए । उनले पछिल्लो पटक आफूले सरकारको नेतृत्व गर्दा सहिदको नामावली राजपत्रमा प्रकाशन, जनयुद्धलाई राष्ट्रिय दिवस घोषणा र शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्‍याउने लगायतका ऐतिहासिक काम गरिएको उल्लेख गर्दै सहिद र योद्धाको स्मरणमा विभिन्न प्रतिष्ठानहरू बनाएर अघि बढ्ने बताए ।

नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले माओवादी एकताबद्ध भए चौसट्ठी साल दोहोरिने बताए । जनताको जीवन बदल्ने अभिभारा अब माओवादीले मात्रै पूरा गर्नसक्ने उल्लेख गर्दै त्यसका लागि क्रान्तिकारीहरूको एकता आवश्यक रहेको बताए ।

प्रकाशित मिति : २०८१ कार्तिक ३ गते, शनिबार


Scroll to Top

Janata Media