काठमाडौँ । अमेरिकाविरुद्धको दोस्रो ट्वान्टी–२० खेलमा नेपालले घरेलु टोलीलाई सुपरओभरमा पराजित गरेको छ ।
आइतबार ड्यालसमा भएको खेलमा नेपालले प्रस्तुत गरेको १७१ रनको लक्ष्य पछ्याउने क्रममा अमेरिकाले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १७० रन नै बनाएपछि खेल सुपरओभरमा पुगेको थियो ।
जसमा नेपालले सहजै जित दर्ता गरेको हो । सुपरओभरमा अमेरिकाले दिएको तीन रनको लक्ष्य नेपालले चार बलमा पूरा गर्यो । यो जितसँगै नेपालले अमेरिकाविरुद्धको शृंखला अन्तिम खेलअगावै जितेको छ ।
दोस्रो खेलमा जितसँगै नेपालले शृंखलामा २–० को अग्रता बनाएको हो । यसअघि शुक्रबार भएको पहिलो खेलमा नेपालले अमेरिकालाई १७ रनले हराएको थियो । सिरिजको तेस्रो तथा अन्तिम खेल सोमबार हुनेछ ।
अमेरिकाका लागि एन्ड्रियस गोसले अविजित ६२ रन बनाए । उनले ४३ बलमा तीन चौका र चार छक्काको सहयागमा उक्त रन बनाएका हुन् ।
सैतेजा मुक्कामल्लाले ४७, मिलिन्ड कुमारले १५ र सायन जहानगिरले १४ रन बनाए । बलिङमा नेपालका करण केसीले तीन विकेट लिए । यस्तै सोमपाल कामीले दुई तथा सागर ढकाल र दीपेन्द्रसिंह ऐरीले एक एक विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा एक सय ७० रन बनाएको थियो ।
नेपालका लागि कुशल भुर्तेलले ५४ बलमा अविजित रहँदै सर्वाधिक ९२ रन बनाए । उनले सात चौका र ६ छक्का हानेका थिए ।
यस्तै ओपनर अनिलकुमार शाह ३१ बलमा २५ रन बनाए । गुलशन झाले १२ बलमा १९ र कप्तान रोहित पौडेलले १४ बलमा १८ रन बनाए ।
बलिङमा अमेरिकाकानोस्तुश केन्जिके र जसदिप सिंहले दुई दुई विकेट लिए । सौरभ नेत्राभाल्करले एक विकेट झारे ।







