काठमाडौं । झापाको गौरीगञ्ज गाउँपालिका ३ ठेकी टोलामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
हुलाकी राजमार्ग अन्तर्गत गौरीगञ्ज बजारदेखि पूर्वतर्फ जाँदै गरेको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा गौरीगञ्ज ४ का रोशन मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
बिहिबार राती करिब ९।२० बजे मे ८ प ८८९५ नम्बरको मोटरसाइकल ठेकीटोला नजिकै भएको दुर्घटनामा मोटरसाइकल चालक ३० वर्षीय मगरको मृत्यु भएको हो।
मोटरसाइकल पछाडि बसेका श्याम राजवंशी घाइते भई हाल दमकस्थित लाइफलाइन अस्पताल दमकमा उपचार भइरहेको छ । यता रोशन मगरको भने उपचारका क्रममा बिहीबार राति साढे १० बजे मृत्यु भएको र दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक कृष्ण चन्दले जानकारी दिए ।







