‘अन्तिम क्षणसम्म’ लड्ने दक्षिण कोरियाली राष्ट्रपति युनको प्रतिबद्धता

जनता संवाददाता
२०८१ मंसिर २७ गते, बिहीबार

काठमाडौं । दक्षिण कोरियाका राष्ट्रपति युन सुक योलले गत साता सैनिक शासन घोषणा गर्ने र देशको संसदमा सेना तैनाथ गर्ने आफ्नो निर्णयको बचाउ गर्दै ‘अन्तिम क्षणसम्म’ लड्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

दक्षिण कोरियाली नेतालाई डिसेम्बरको पहिलो सातामा भएको शैनिक कानुनको घोषणा गर्ने ‘नाटकीय राजनीतिक भूमिका’ का सम्बन्धमा अनुसन्धानको एक भागको रूपमा विदेश यात्रामा प्रतिबन्ध लगाइएको छ ।

युनको यस कदमले सियोलका सहयोगीहरूलाई स्तब्ध पारेको थियो र दक्षिण कोरियालाई वर्षौंपछि गहिरो राजनीतिक उथलपुथलमा फ्याँकेको थियो ।

शनिबारका लागि पुनः मतदानको तयारी गरिएको राष्ट्रपति युनविरूद्ध संसदमा महाभियोगको प्रस्तावबारे प्रतिक्रिया दिँदै युनले भने, “म अन्तिम क्षणसम्म दक्षिण कोरियाली जनताको पक्षमा लड्ने’ प्रतिवद्धता प्रकट गरेको छु ।”

उनले टेलिभिजनमार्फत् ‘राष्ट्रका नाममा’ सम्बोधन गर्दै भने, “म ती मानिसहरूसँग फेरि माफी माग्छु, जो सैनिक कानुनका कारण आश्चर्यचकित र चिन्तित भएका हुनुपर्छ । कृपया, मलाई विश्वास गर्नुहोस् ।”

महाभियोगको मतदान स्थानीय समयअनुसार आगामी शनिबार डिसेम्बर १४० साँझ ५ बजे हुनेछ ।

राष्ट्रपतिविरूद्ध विपक्षी गठबन्धनले दर्ता गरेको र एक पटक मतदान हुने तयारी भइरहँदा सत्तारूढ पार्टीका करिब सबै सांसद्ले मतदान बहिस्कार गरेपछि प्रस्ताव विफल भएको थियो । महाभियोगको आवश्यक दुई तिहाइ बहुमत प्राप्त गर्न सत्तारुढ पिपुल्स पावर पार्टी (पीपीपी) का आठ सदस्यको समर्थन प्राप्त गर्न आवश्यक छ ।

बिहीबार पीपीपीका नेता हान दोङ–हुनले पार्टीका सदस्यहरूलाई बैठकमा उपस्थित हुन र ‘उनीहरूको विश्वास र अन्तस्करणअनुसार’ मतदान गर्न आग्रह गरेका छन् ।

प्रहरीले युनको राष्ट्रपति कार्यालयमा बुधबार छापा मार्ने प्रयास गरेको थियो तर राष्ट्रपतिको कार्यालयका सैनिक सुरक्षा गार्डले कार्यालय परिसरमा प्रहरी प्रवेशलाई अनुमति नदिएपछि प्रहरी फिर्ता हुनुपरेको थियो ।

प्रमुख विपक्षी डेमोक्र्याटिक पार्टीले राष्ट्रपतिका कर्मचारी र सुरक्षा निकायले कानुन कार्यान्वयनमा अवरोध पुर्‍याए थप कानुनी प्रक्रिया अघि बढाउने चेतावनी दिएको छ ।

दक्षिण कोरियाको राजधानी सियोलमाा गत हप्तादेखि दैनिक प्रदर्शन भइरहेको छ र हजारौं मानिस युनको राजीनामा मागिरहेका छन् ।

गत हप्ताको ‘सैनिक कानुन (मार्शल ल)’ घोषणा मा उनको कथित भूमिका को लागि युनका निकट सहयोगी गहन अनुसन्धानको भागिदार बनेका छन् ।

बिहीबार प्रहरीले सेनाको राजधानी रक्षा कमाण्डको मुख्यालयमा छापा मारेको बताएको थियो ।

युनलाई सैनिक शासन लागू गर्न आग्रह गरेको आरोप लागेका पूर्व रक्षामन्त्री किम योङ ह्युनले मङ्गलबार जेलमै आत्महत्याको प्रयास गर्नुभएको बताइएको छ ।

किमलाई पहिलो पटक आइतबार हिरासतमा लिइएको थियो र पछि ‘विद्रोहको समयमा महत्त्वपूर्ण कर्तव्यहरूमा संलग्न भएको’ र ‘नागरिक अधिकारको प्रयोगमा बाधा पुर्‍याउन पदीइ अधिकारको दुरुपयोग गरेको’ आरोपमा औपचारिक रूपमा गिरफ्तार गरिएको थियो ।

पूर्व गृहमन्त्री र ‘मार्शल ल’ भूमिकाको जिम्मेवारी सम्हालेका जनरललाई पनि विदेश यात्रामा प्रतिबन्ध लगाइएको छ । दुई जना वरिष्ठ प्रहरी अधिकारीलाई पनि बुधबार बिहान पक्राउ गरिएको छ ।

पीपीपीले युनको राजीनामा तत्काललाईलाई थाँती राख्दै उनले प्रधानमन्त्री हान डक सो र पार्टी प्रमुख हानलाई सत्ता हस्तान्तरण गर्न सहमत भएको जनाएको छ । तर युनले विपक्षीले देशलाई ‘राष्ट्रिय सङ्कट’मा धकेलेको आरोप लगाउँदै बिहीबार त्यसको विरोध गरेका थिए ।

‘विपक्षी दलको प्रभुत्व रहेको नेशनल एसेम्ली उदार लोकतन्त्रको संवैधानिक व्यवस्थालाई ध्वस्त पार्ने कडी बनेको छ,” युनले टेलिभिजन सम्बोधनमा भने ।

उहाँले भन्नुभयो, “‘मार्शल ल’को घोषणासम्बन्धी कानुनी र राजनीतिक जिम्मेवारीबाट म पन्छिने छैन ।”

दक्षिण कोरियाली नेताले दक्षिण कोरियालाई उत्तर कोरियाली कम्युनिस्ट शक्तिबाट उत्पन्न हुने खतराबाट जोगाउन र राष्ट्रविरोधी तत्वलाई नियन्त्रण गर्न मार्शल लको घोषणा गरेको बताएका थिए ।

प्रकाशित मिति : २०८१ मंसिर २७ गते, बिहीबार


Scroll to Top

Janata Media