यु–१९ महिला एसिया कप : वर्षाले खेल प्रभावित भएपछि नेपाल र भारतले अंक बाँडे

जनता संवाददाता
२०८१ पुष २ गते, मंगलवार

काठमाडौँ । मलेसियामा जारी एसिसी यु–१९ महिला एसिया कप क्रिकेटको एक खेल अगाडि नै सेमिफाइनलमा प्रवेश गरेको नेपालले भारतसँग अंक बाँडेको छ । भारतसँग अंक बाँडेसँगै नेपाल समूह ‘बी’को शीर्ष स्थानमा रहँदै सेमिफाइनल प्रवेश गरेको हो । भारत र नेपालको समान तीनतीन अंक भए पनि नेपाल तालिकाको शीर्ष स्थानमा छ ।

समूह चरणको दोस्रो खेलमा मंगलबार नेपालले भारतसँग अंक बाँडेको हो । खराब मौसममा कारण खेल प्रभावित भएपछि नेपाल र भारतले अंक बाँडेका हुन् । टस हारेर सुरुमा ब्याटिङ गरेको नेपालले भारतलाई ९५ रनको चुनौती दिएको थियो । नेपालले ९ विकेटको क्षतिमा पूरै २० ओभर खेल्दै ९४ रन बनाएको थियो । नेपालका लागि कप्तान पूजा महतोले ४० बलमा २५ रन बनाईन् । एलिसा यादवले मात्र ९ बलमा २० रन जोडिन् । अन्य कुनै पनि ब्याट्सम्यानले दोरहोरो अंकमा रन जोड्न सकेनन् ।

भारतका लागि परुनिका सिसोदियाले चार विकट लिँदा अनन्दिता किशोर र मिथिला विनोदले एक एक विकेट हात पारिन् ।

९५ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा रहेको भारतले ३.१ ओभरमा बिना विकेट २८ रन बनाएको थियो । त्यही समयमा हावाहुलीले खेल सञ्चालन हुन नसकेपछि दुई देशले अंक बाँडेका हुन् ।

समूह चरणको पहिलो खेलमा सोमबार नेपालले पाकिस्तानलाई ६ विकेटले हराउँदै सेमिफाइनल प्रवेश गरिसकेको छ । पाकिस्तान लगातार दोस्रो हारसहित बाहिरिएपछि नेपाल एक खेल अगावै सेमिफाइनल प्रवेश गरेको हो ।

समूह ‘बी’मा नेपालसहित भारत र पाकिस्तान सहभागी थिए । एसिया कपको समूह ‘ए’ मा श्रीलङ्का, बङ्गलादेश र मलेसिया छन् । एसियाबाट यु–१९ महिला विश्व कपमा छनोट भएकाले नेपालले एसिया कप खेल्ने मौका पाएको हो ।

प्रकाशित मिति : २०८१ पुष २ गते, मंगलवार


Scroll to Top

Janata Media