काठमाडौँ । प्रहरीले रु २५ करोडभन्दा बढी रकमसहित एकजनालाई पक्राउ गरेको छ ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले टोखा नगरपालिका–१ झोर क्षेत्रबाट उक्त रकमसहित गए राति एक जनालाई पक्राउ गरेको हो । कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक रमेश बस्नेतका अनुसार पक्राउ परेका व्यक्तिबाट उक्त परिमाणमा रकम बरामद गरिएको हो ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका वडा नम्बर १ बस्ने ४३ वर्षका फुच्चे भन्ने कुसाङ लामा रहेका छन् ।
रसुवा नाका हुँदै ट्रकमा युरो र अमेरिकन डलरसहितका विदेशी मुद्रा लगिँदै गरेको सूचनाका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई गए राति पक्राउ परेको हो । पक्राउ परेको विदेशी मुद्रा नेपालीमा कन्भर्ट गर्दा २५ करोड १ लाख ६० हजार ३३८ रुपैयाँ हुन आउने प्रहरीले जनाएको छ ।
ना १ ख १६५२ नम्बरको ट्रकबाट नेपाली रुपैयाँ, अमेरिकी डलर, युरोलगायत विभिन्न मुलुकका मुद्रा बरामद गरिएको प्रहरी वरिष्ठ उपरीक्षक बस्नेतले बताए। रासस







