
हुम्ला । हुम्लाको चंखेली गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको छ । चंखेली पूर्ण खोप सुनिश्चितता घोषणा भएको जिल्लाकै पहिलो पालिकाको रूपमा घोषणा हो । स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता पूर्ण खोप सुनिश्चितता, हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ चंखेली गाउँपालिका पूर्ण खोप सुनिश्चितता गाउँपालिका घोषित गरिएको हो । गाउँपालिकाको स्वास्थ्य शाखाको समन्वयमा सबै स्वास्थ्य संस्थाले छ वटै वडाका बस्तीमा बालबालिकालाई खोप लगाउने कार्य पूरा भएपछि चंखेलीलाई पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषित गरिएको हो ।
गाउँपालिका भरिका खोप लगाउने सबै उमेर समूह ०–५९ महिना सम्मका बालबालिकाले खोप लगाएपछि गाउँपालिकाले धेरै तह पार गर्दै आइतबार पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषित गरिएको चंखेली गाउँपालि स्वास्थ्य शाखा संयोजक सुरवीर शाहीले बताए । गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा सञ्चालन भएको कार्यक्रममा आगामी दिनमा चंखेलीका बालबालिकाले खोप लगाउनबाट वञ्चित भएको समाचार सञ्चारकर्मीले लेख्नु नपरोस् भन्ने आग्रह उपस्थित सञ्चारकर्मीले गरेका थिए । सो गाउँपालिकाले ५९ महिनाभन्दा मुनिका बालबालिकालाई पूर्ण खोप सुनिश्चित गरेको छ ।
यस अघिका आमाहरू अशिक्षित भएका कारण गाउँ घरको स्थानीय परम्परालाई मात्र बढी जोड दिँदै नियमित खोप भन्दा कामलाई ध्यान दिने गरेको भए पनि पछिल्लो समयका आमाहरूले आफूसँगै बालबालिकाको स्वास्थ्यको ध्यान दिने गरेकाले समेत पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गर्न सहज भएको संयोजक शाहीले बताए ।
चंखेली गाउँपालिका अध्यक्ष तथा खोप समन्वय समितिका संयोजक प्यारीलाल शाहीले एक कार्यक्रमका बिच चंखेली गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता गाउँपालिका घोषणा गर्नु भएको छ । सबैले आ–आफ्नो क्षेत्रबाट उत्साह र उमङ्गका साथ काम गरेकालेहाम्रो गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गर्न सकिएको हो । पूर्ण खोप सुनिश्चित घोषणा गर्नु मात्र ठुलो कुरा होइन यसलाई निरन्तरता दिनु ठुलो विषय भएकोले आगामी दिनमा चंखेली गाउँपालिकाले अभियानकै रूपमा सञ्चालन गर्न आवश्यक रहेको पालिका अध्यक्ष शाहीले बताए ।
चंखेली गाउँपालिका अध्यक्ष तथा खोप समन्वय समितिका संयोजक प्यारीलाल शाहीको अध्यक्षतामा सञ्चालित खोप सुनिश्चितता घोषण गर्न सहयोग गर्ने कर्मचारीलाई धन्यवाद दिँदै खोपले बालबालिकामा विभिन्न रोगबाट बच्ने प्रतिरोधात्मक क्षमता बढ्ने भएकाले।खोपबाट बालबालिकालाई वञ्चित गराउन नहुने चंखेली गाउँपालिका उपाध्यक्ष प्रेमकला शाहीले बत्ताइन् ।