सुदूरपश्चिमका पूर्व मुख्यमन्त्री सोडारीविरुद्ध एक करोडको भ्रष्टाचार मुद्दा

जनता संवाददाता
२०८२ जेष्ठ १९ गते, सोमबार

काठमाडौँ । सुदूरपश्चिम प्रदेश सरकारका तत्कालीन मुख्यमन्त्री तथा भौतिक पूर्वाधार विकासमन्त्री दीर्घबहादुर सोडारीविरुद्ध एक करोड आठ लाख ३८ हजार ३०२ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार हाल प्रदेश सभा सदस्य समेत रहेका सोडारीले पदीय मर्यादा विपरीतका कार्यहरू गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोप लागेको छ ।

आयोगका अनुसार सोडारीले सार्वजनिक पदधारण गरेको मिति २०७४ माघ ७ गतेदेखि २०७९ फागुन १० गतेसम्मको जाँच अवधिमा निजसमेतको खुद बैँक मौज्दात, पारिश्रमिक बचत, दैनिक भ्रमण भत्ता, गैरसरकारी संस्थाबाट प्राप्त भत्ता आय, श्रीमतीको पारिश्रमिक बचत लगायत जम्मा आय ८५ लाख ५१ हजार ३३४ रुपियाँ रहेको छ ।

यसैगरी, सो अवधिमा व्ययतर्फ जग्गा खरिदमा भएको खर्च, छोरीको अध्ययन खर्च, निजको श्रीमती सञ्चालक रहेको बबी मसला उद्योगमा भएको लगानी, बिमा प्रिमियम भुक्तानी, प्रदेश सभा निर्वाचनमा भएको खर्च, छोराको विवाहमा भएको खर्च, शेयर लगानी तथा विभिन्न बैँक तथा वित्तीय संस्थामा रहेको नगद मौज्दातसमेत गरी जम्मा एक करोड ९३ लाख ८९ हजार ६३७ रुपियाँ देखिएको आयोगको विज्ञप्तिमा उल्लेख छ ।

निजको कुल आयभन्दा कुल व्यय अधिक हुन गएको र सोही बराबरको सम्पत्तिको स्रोत पुष्टि हुन नसकेकोले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा २ बमोजिम बिगो कैद र जरिवाना हुन माग दाबी लिइएको आयोगले जनाएको छ ।

प्रकाशित मिति : २०८२ जेष्ठ १९ गते, सोमबार


Scroll to Top

Janata Media