भाषा परीक्षामा पहिलो दिन नै झन्डै उनन्तिस हजार आवेदन

जनता संवाददाता
२०८२ श्रावण २७ गते, मंगलवार

काठमाडौँ । सन् २०२५ मा रोजगार अनुमति प्रणाली ९इपिएस० मार्फत दक्षिण कोरिया जानका लागि आवेदन खुलेको पहिलो दिन सोमबार २८ हजार ८८८ जनाको आवेदन परेको छ । दक्षिण कोरिया सरकारको मानव संसाधन विभाग (एचआरडी) ले (इपिएस) अन्तर्गत सन् २०२५ मा कोरिया जानेका लागि आवेदन माग गरेको पहिलो दिनमा नै यो सङ्ख्यामा आवेदन आएको हो ।

वैदेशिक रोजगार विभाग अन्तर्गतको इपिएस शाखाका अनुसार दक्षिण कोरियामा साना तथा मझौला उद्योगमा विदेशी श्रमिक अभाव हुन थालेपछि उत्पादनमूलकतर्फ तीन हजार पाँच सय र कृषि तथा पशुपालनतर्फ एक हजार आठ सय गरी पाँच हजार तीन सय कामदार माग गरेको छ ।

इपिएस शाखाका अनुसार आवेदन दिने म्याद साउन ३१ सम्म छ । हाललाई पाँच हजार तीन सय जना लैजाने गरी कोटा तोकिए पनि कोरियाका रोजगारदाताको माग अनुसार उत्तीर्ण सङ्ख्या थपघट हुन सक्ने एचआरडी कोरियाले जनाएको छ ।

उत्पादनमूलक क्षेत्रमा आवेदन दिने परीक्षार्थीले एसेम्बल, मेजरमेन्ट वा जडान उपक्षेत्रमध्ये कुनै एक मात्र छनोट गर्न पाउने विकल्प छ । यसै गरी कृषि तथा पशुपालन क्षेत्रमध्ये कुनै एक उपक्षेत्रमा मात्र आवेदन दिन सकिने छ ।

यसअघि इपिएस भाषा परीक्षाको आवेदन दिन रातभर सडकमा नै बस्नुपर्ने अवस्था अन्त्य गर्न अनलाइन आवेदन दिन सकिने शाखाले जनाएको छ ।

पछिल्लो समय कोरियाले विभिन्न १७ देशबाट इपिएस अन्तर्गत श्रमिक लिने गरेकामा सबैभन्दा धेरै नेपालबाट लिँदै आएको छ । गत आव २०८१र८२ मा १४ हजार ४९२ नेपाली युवा दक्षिण कोरिया प्रवेश गरेका छन् ।

प्रकाशित मिति : २०८२ श्रावण २७ गते, मंगलवार


Scroll to Top

Janata Media