हुम्लाको टाँके नाकामा सीमा समस्याबारे नेपाल–चीनबीच छलफल

जनता संवाददाता
२०८२ भाद्र २ गते, सोमबार

हुम्ला । हुम्लाको चंखेली गाउँपालिका-५, टाँके नाकास्थित ङोन्मु तिङतिङमा नेपाल-चीन पक्षबीच उच्चस्तरीय वार्ता सम्पन्न भएको छ ।

चीनको डोङ्पा सेनका प्रमुख जिल्ला अधिकारी नेतृत्वको टोली र चंखेली गाउँपालिकाका अध्यक्ष प्यारीलाल शाहीको नेतृत्वमा गएको नेपाली प्रतिनिधिमण्डलबीच सम्पन्न वार्तामा सीमा क्षेत्रका बासिन्दाले भोगिरहेका समस्या, व्यापारिक अवरोध र विकासका सम्भावनाहरूका विषयमा विस्तृत छलफल भएको गाउँपालिकाले जनाएको छ ।

वार्तामा नेपाल पक्षले अन्य नाकामा पाइँदै आएको सहुलियत सामग्री नेप्काबासीले नपाएको गुनासो औपचारिक रूपमा राखेको थियो । साथै, चीनको हरियाचौर (ङोन्मु तिङतिङ) देखि नेपाल-चीन सीमा नजिकैसम्म मोटर बाटो विस्तार गर्न आग्रह गरिएको थियो ।

चीन पक्षले यस नाकालाई व्यवस्थित बनाउन, स्थानीय बासिन्दालाई सहुलियत सामग्री उपलब्ध गराउन र चंखेली गाउँपालिकाको विकास-निर्माणमा सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । भविष्यमा यस नाकालाई आधिकारिक व्यापारिक नाका बनाउन दुबै देशबीच पहल गर्ने सहमति भएको चंखेली गाउँपालिकाका अध्यक्ष प्यारीलाल शाही बताए ।

कोभिड(१९ का कारण केही वर्ष अवरूद्ध रहेको परम्परागत हाट व्यापार पुनः सुचारू गर्ने तयारी स्वरूप भएको यस वार्तालाई स्थानीय बासिन्दाले ऐतिहासिक उपलब्धि मानेका छन् ।

प्रकाशित मिति : २०८२ भाद्र २ गते, सोमबार


Scroll to Top

Janata Media