हुम्ला । हुम्लाको सर्केगाड गाउँपालिका वडा नम्बर २ मा आगलागी हुँदा जलेर २ जना घाइते भएको छ । आगलागीबाट तिन घर जलेको र दुई जना घाइते भएका छन् ।
बिहीबार राती ११ बजे लैबा फडेराको घरबाट अचानक सुरु भएको आगलागीमा परेर स्थानीय लैबा फडेरा र बम्बु फडेरा घाइते भएका हुन् ।
बिहान २ बजे एम्बुलेन्सबाट ल्याइएको लैबा फडेरा र उनकी श्रीमती बम्बु फडेरालाई सिमकोट ल्याइए लगत्तै उपचार सुरु भएको जिल्ला अस्पताल सिमकोटले जनाएको छ ।
लैबाको ५४ प्रतिशत शरीर आगोले खाएका कारण जिल्लामा उपचार अलि जटिल र श्रीमती बम्बुको १८ प्रतिशत शरीरलाई आगोले खाएका कारण जिल्लामै उपचार सम्भव भएको जिल्ला स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख डा उमाकान्त तिवारीले जानकारी दिए ।
घटना स्थलमा अहिले सर्केगाड गाउँपालिकाका अध्यक्ष ठान बहादुर रोकाया, उपाध्यक्ष देविका तिमिल्सीना र प्रमुख प्रकाशकीय अधिकृतसहितको टोली उद्धार र राहत सामाग्री सहित पुगेको अध्यक्ष रोकायाले जानकारी दिए ।







