काठमाडौं । प्रेस काउन्सिल नेपालले दर्ता, सूचीकरण नभइ अफवाहपूर्ण सामग्री सम्प्रेषण गर्ने १८ युट्युव च्यानललाई कारबाहीका लागि सिफारिश गरेको जनाएको छ ।
निराधार, अतिरञ्जित शीर्षक दिइ जनमानसमा भ्रम फैलाउने, कुरीति एवं अन्धविश्वासलाई प्रश्रय दिने, अमर्यादित, अश्लिल सामग्री सम्प्रेषण गर्नेलाई कारवाहीका लागि सिफारिस गरिएको काउन्सिलले जनाएको छ । मिडियाअन्तर्गत आबद्ध नभएका सामाजिक सञ्जाल (युट्युब च्यानल) बाट सम्प्रेषित सामग्रीको अनुसन्धान गरी कारबाही गर्न नेपाल प्रहरी ९साइबर ब्युरो० मा पत्राचार गरिएको काउन्सिलका सहप्रशासकीय अधिकृत रामशरण बोहराले जानकारी दिए ।
मिडिया अन्तर्गत सञ्चालनमा रहेकाको हकमा पत्रकार आचारसंहिताको व्यवस्था बमोजिम नै कारबाही प्रक्रिया अगाडि बढाइएको उनको भनाइ छ ।
असअघि सञ्चार माध्यमको आवरणमा सर्वसाधारणलाई त्रसित र आतङ्कित गर्ने सामग्री सम्प्रेषण गरेको भन्दै मंसिर ८ गते युट्युबसहितका १७ मिडियालाई २४ घण्टे स्पष्टीकरण सोधेको उनले बताए ।
कुनै मिडियासँग सम्बद्ध भएका र नभएका सामाजिक सञ्जालबाट सम्प्रेषित सामग्रीको विशेष अनुगमन गरी काउन्सिलले मङ्सिर पहिलो साता केही सामाजिक सञ्जालबाट सम्प्रेषित सामग्रीका विषयमा कारबाही अघि बढाएपछि अधिकांशले सच्चिने प्रतिवद्धतासहित स्पष्टीकरण पेस गरिसकेको बोहराले बताए ।
काउन्सिलले हिंसा, त्रास एवं द्वन्द्वलाई प्रश्रय गर्ने, प्रायोजित एवं पक्षपोषणयुक्त, घृणास्पद अभिव्यक्ति एवं वयक्तिक गोपनीयता प्रतिकूल सामग्री सम्प्रेषण नगर्न नगराउन सञ्चार माध्यम, पत्रकार, सञ्चारकर्मी, सामाजिक सञ्जालका प्रयोगकर्तासँग आग्रह गरिएको उनले बताए ।







