काठमाडौँ । हुम्लाबाट राष्ट्रियसभामा सिफारिस भएका माओवादी केन्द्रका नेता दिपेन्द्र रोकायालाई पार्टी केन्द्रले बाइपास गरेको भन्दै हुम्लाका आठ जना जनप्रतिनिधिले मतदान प्रक्रियामा भाग नलिने निर्णय गरेका छन् ।
रोकायालाई राष्ट्रियसभाका लागि एकल नाम सिफारिस गरेको माओवादी केन्द्र हुम्लाले पार्टीको तर्फबाट रुकुम पश्चिम, जाजरकोट र कालीकोटलाई मात्रै अवसर दिएको भन्दै मतदान प्रक्रियामै सहभागी नहुने निर्णय गरेका हुन् ।
माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारीको अध्यक्षतामा आइतबार बसेको जनप्रतिनिधिहरूको बैठकले राष्ट्रियसभामा हुम्लाले अवसर नपाए कुनै पनि प्रक्रियामा भाग नलिने निर्णय गरेको हो ।
पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाललाई बुझाइएको पत्रमा माओवादीबाट हुम्लाका प्रतिनिधिसभा सदस्य छिरिङदम्डोल लामा (कार्चेन), कर्णाली प्रदेशसभा सदस्यहरू रणसिंह परियार, जुम्कीत लामा, सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारी, ताँजाकोट गाउँपालिका अध्यक्ष लालकेश जैशी, नाम्खा गाउँपालिका अध्यक्ष प्रेम लामा, अदानचुली गाउँपालिका उपाध्यक्ष कर्ण रोकाया र खार्पुनाथ गाउँपालिका उपाध्यक्षले हस्ताक्षर गरेको स्रोतले बताएको छ ।
पार्टीले जस्तोसुकै कारबाही गरे पनि भोग्न तयार भएको र आफूहरुले गरेको निर्णय कुनैपनि हालतमा फिर्ता नलिने निर्णयमा हस्ताक्षर गरेका एक प्रतिनिधिले जनता मिडियालाई बताए ।







