हुम्लाको दक्षिण भेगमा पर्ने अदानचुली गाउँपालिका-४ पाम्समा आज भएको सवारी दुर्घटनामा परी घाइते भएकाहरूलाई उपचारका लागि बाजुरा पठाइएको छ।
हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी अमृतप्रसाद सुवेदीका अनुसार घाइते ६ जनामध्ये २ जनाको अवस्था गम्भीर रहेको छ। गम्भीर घाइते हुनेमा सोही गाउँपालिका-१ कल्सेका २५ वर्षीय जनक ठगुन्ना (चालक) र सोही ठाउँका २५ वर्षकै धनबहादुर महरा रहेका छन्।
अन्य घाइते हुनेमा वडा नम्बर-५ काठे बस्ने १६ वर्षीय खगेन्द्र टमटा, ६० वर्षीय तुला टमटा, बारीगाउँ बस्ने ४५ वर्षीय दल बोहरा र ४५ वर्षका रामबहादुर ऐडी रहेका छन्।
उनीहरुलाई उद्धार गरी वडा नम्बर-३ को श्रीनगर स्वास्थ्य चौकीमा प्राथमिक उपचार गरिएको थियो। थप उपचारका लागि जिल्ला अस्पताल बाजुरा लैजान लागिएको सहायक प्रमुख जिल्ला अधिकारी सुवेदीले बताए।
उनका अनुसार घाइतेलाई उपचारका लागि सुर्खेत ल्याउनका लागि यसअघि हेलिकप्टर ल्याउने तयारी भएको भए पनि समय धेरै लाग्ने भएकाले हेलिकप्टर नल्याएर गाडीमै हुम्ला लैजान लागिएको हो।
सु.प. ०१००१ ज ११८३ जिपमा चालकसहित ९ जना सवार रहेका थिए। जसमध्ये दुई जना वडा नम्बर-५ बारी गाउँका १४ वर्षीय प्रवेश ऐडी र करगै बस्ने ४५ वर्षीय फागुने लोहारको मृत्यु भइसकेकाे छ।
जिप वडा नम्बर-३ श्रीगाउँबाट वडा नम्बर-५ जान लागेको थियो। गाउँ नपुग्दै वडा नम्बर-४ को पाम्स मोडमा शुक्रबार साँझ करिब पौने ४ बजेतिर दुर्घटनामा परेको हो। जिप सडकबाट करिब १ सय मिटर तल खसेको थियो।







