
काठमाडौँ । जी सेभेन प्रोडक्सनले आफ्नो ब्यानरमा चलचित्र ‘डोरी’ निर्माण हुने घोषणा गरेको छ । द्वन्द्व, हास्य र थ्रिलर विषयवस्तुमा निर्माण हुने चलचित्रको निर्देशन अरुण लामाले गर्ने छन् छ ।
निर्देशक लामाले नेपाली चलचित्र क्षेत्रमा नयाँ शैलीको कथा प्रस्तुत गर्ने बताए । ‘डोरी’ को कथा परिवारको आर्थिक बोझ हल्का गर्न जीवनका जोखिमपूर्ण निर्णय लिने एउटा जीवनको गहिरो दुष्चक्रमा फसेको सङ्घर्षशील युवाको वरिपरि घुम्ने निर्देशकले बताए ।
चलचित्रमा हाँसो, त्रास र असफलतासहितको सङ्घर्षलाई रोचक रूपमा प्रस्तुत गरिने उनले बताए ।
चलचित्रमा मुख्य भूमिकामा प्रवीण खतिवडा, शिशिर बाङ्देल, कविता आले, राज पौडेल, विशाल राई, मिलन राईलगायतको अभिनय रहने छ भने मुख्य नायिकाको चयन हुन बाँकी रहेको छ । यस चलचित्रमार्फत राज पौडेल नेपाली चलचित्र क्षेत्रमा पदार्पण गर्दै छन् ।
चलचित्रको छायाङ्कन सौरभ लामा र द्वन्द्वनिर्देशन राजु तामाङले गर्छन् । चलचित्र सन् २०२५ मा नेपाली सिनेमा घरहरूमा प्रदर्शन हुने निर्माण पक्षले जनाएको छ ।