ममाथि संसदीय समिति बनाउनुपर्ने कुनै आधार देखिदैन : गृहमन्त्री लामिछाने

जनता संवाददाता
२०८१ बैशाख २५ गते, मंगलवार

काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले नेपाली काँग्रेसले जिम्मेवार भएर प्रमुख प्रतिपक्षको भूमिका निभाउनुपर्ने बताएका छन् । मंगलबार सभामुख देवराज घिमिरेले दलका शीर्ष नेतासँग गरेको छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै गृहमन्त्री लामिछानेले यस्तो बताएका हुन् ।

उहाँले देशमा धेरै बेथिति विसङ्गति रहेको भन्दै अब त्यसलाई अन्त्य गर्नका लागि सबै दलहरू मिल्नुपर्ने बताए। उनले सरकार सहकारीको समस्या समाधान गर्न कटिबद्ध रहेको बताए।

सहकारीका समस्या समाधानका लागि सरकारले मन्त्रिपरिषद्को बैठकबाट फास्ट ट्रयाकमा बचतकर्ताको रकम फिर्ता गराउन फरार, दोषी, सम्पर्कमा नरहेका सञ्चालकको सम्पत्ति जफत गरेर भए पनि बचतकर्ताको पैसा फिर्ता दिने निर्णय गरिसकेको बताए।

उनले आगामी संसद्को बैठकमा सो निर्णयलाई प्रस्तावको रूपमा लैजाने तयारी रहेको बताए। उनले सहकारीको रकम हिनामिनामा आफ्नो विरुद्ध कतैपनि मुद्दा दर्ता समेत नभएको भन्दै उजुरी हाल्नसाथ संसदीय समिति बनाउने भए र राजीनामा दिने हो भने आफू तयार रहेको बताए। उनले समिति बनाउने स्पष्ट आधार नभएको जिकिर गरे।

गृहमन्त्री लामिछानेले उजुरी गयो भन्दैमा संसदमा हङ्गामा गर्न आवश्यक नरहेको पनि बताए।

प्रकाशित मिति : २०८१ बैशाख २५ गते, मंगलवार


Scroll to Top

Janata Media