गृहमन्त्री लामिछानेलाई छानबिनको दायरामा ल्याउनुपर्ने कांग्रेसको अडान यथावत्

जनता संवाददाता
२०८१ जेष्ठ ६ गते, आईतवार

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसदीय छानबिन समितिमा सहकारी प्रकरणमा मुछिएका उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको नाम उल्लेख गरेर जानुपर्ने अडान लिएको छ ।

आइतबार दिनभर बसेको संसदीय छानबिन समितिको कार्य क्षेत्रको विषयमा सहमति जुटाउने बसेको कार्य दलको बैठकमा काँग्रेसले आफ्नो पुरानै अडान यथावत् राखेपछि सहमति जुट्न नसकेको हो ।

नेताहरूले फेरि आइतबार साँझ बैठक बस्ने र सहमति जुटाउन प्रयास गर्ने बताएका छन् । नेपाली काँग्रेसका सहमहामन्त्री जीवन परियारले गृहमन्त्रीलाई छानबिनको दायरामा ल्याउने आफूहरूको अडानमा सत्तापक्ष सहमत नभएको बताए। उनले पुनः छलफल गरी सो विषयलाई टुङ्गो लगाउन आफूहरू प्रयासरत रहेको पनि बताए।

यता सत्तापक्षले भने आरोप लगाउँदैमा दोषी करार गर्ने ढङ्गले कांग्रेसले प्रस्ताव ल्याएको मान्य नहुने प्रतिक्रिया दिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले आरोप लाग्दैमा पार्टीका सभापति रवि लामिछानेलाई दोषी करार गर्ने खालको प्रस्ताव कांग्रेसले गरेको भन्दै मान्यता नहुने बताए ।

प्रमुख दलका शीर्ष नेताहरूले सहकारी प्रकरण छानबिनका लागि संसदीय समिति बनाउन सहमत भएपछि त्यसको टिओआर तय गर्न सो कार्यदलमा छलफल गरिएको हो ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले संयोजकत्वमा रहेको सो कार्यदलमा नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियार, कांग्रेस प्रमुख सचेतक रमेश लेखक, एमालेका प्रमुख सचेतक महेश बर्तौलाले, राष्ट्रिय स्वतन्त्र पार्टीका खनाल हुनुहुन्छ ।

 

प्रकाशित मिति : २०८१ जेष्ठ ६ गते, आईतवार


Scroll to Top

Janata Media