अमेरिकी दूतावासलाई लेखेको पत्र विवादमा परेपछि उपसभामुख रानाको स्पष्टिकरण (पत्रसहित)

जनता संवाददाता
२०८१ श्रावण ४ गते, शुक्रबार

काठमाडौं । अमेरिकी दूतावासलाई लेखेको पत्र सार्वजनिक भएपछि विवादमा तानिएकी प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानाले त्यसबारेमा स्पष्टिकरण दिएकी छिन् ।

सन् २०२३ फेब्रुवरी २६ मा अमेरिकाको न्यूयोर्कमा आयोजना भएको एनजीओ सिएसडब्ल्यू ६७ मा सहभागिताका लागि नेपालस्थित अमेरिकी दूतावासलाई पत्र लेखेकी थिइन् । उक्त पत्र केही दिनअघि सार्वजनिक भएपछि उनी विवादमा तानिएका हुन् ।
संघीय संसद्का लेटरहेड समेत प्रयोग गरेर लेखिएको पत्रमा अन्य व्यक्तिहरुलाई समेत भिसा दिलाउन पहल गरेको आरोप उनीमाथि लागेको छ । सो विषयमा स्पष्टिकरण दिँदै उपसभामुख रानाले उक्त कार्यक्रममा सहभागिता हुन लामो समय कुर्नुपर्ने भएकाले आफूले छिटो भिसा दिलाइदिन आग्रह गरेको स्वीकार गरेकी छिन् ।

‘‘ म लगायत अन्य सहभागीलाई आएको निमन्त्रणा स्वीकार गरी अमेरिका जाने क्रममा यात्रा गर्नुपर्ने समयावधि अत्यन्त छोटो रहेको तर राजदूतावासमा अन्तर्वार्ताको मिति लिन लामो समय कुर्नुपर्ने अवस्थामा मैले मसँगै उक्त कार्यक्रममा सहभागी हुन जान निमन्त्रणा आएको र उक्त कार्यक्रममा मेरो लागि सहयोगी समेत भैदिने हुनाले अन्तर्वार्ताको लागि मिति लिइदिन अनुरोध गरेपछि मैले नेपालस्थित संयुक्त राज्य अमेरिकाको राजदूतावासलाई अन्तर्वार्ताको लागि मिति राखि दिन मात्रै अनुरोध गरेको थिएँ,’ रानाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

‘कसैलाई भिसा दिने वा नदिने स्वः निर्णय राजदूतावासले आफ्नो नीति र प्रक्रिया बमोजिम गर्ने नै हुन्छ । मैले कसैको भिसाको लागि अनुरोध पनि गरेको छैन । हैन,’ उनले भनेकी छिन् ।

साथै उक्त पत्र लेखेको डेढ वर्षपछि उक्त पत्र सार्वजनिक गरेर आफूलाई विवादमा तान्न खोजिएको भन्दै आपत्ति जनाएकी छिन् । साथै आफूले अनैतिक नियतले कुनै पनि काम नगरेको बताइन् ।

‘मैले करुणाभावले सहयोग गर्न खोजेको विषयलाई उक्त पत्र लेखेको झण्डै डेढ वर्षपछि विवादित गराउन खोज्नु म विरुद्ध नियोजित कदम रहेको देखिन्छ,’ उनले भनेकी छिन् ।

यो पनि…

उपसभामुखको पत्र : इन्दिरा तनावमा, रास्वपा फेरि विवादमा

प्रकाशित मिति : २०८१ श्रावण ४ गते, शुक्रबार


Scroll to Top

Janata Media