हुम्लामा ट्याक्टर दुर्घटना हुँदा दुई जना घाइते

जनता संवाददाता
२०८१ श्रावण १६ गते, बुधबार

हुम्ला । हुम्लाको सिमकोट गाउँपालिका–२ ठेहे गाउँ नजिक पैरापोरीमा ट्याक्टर दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । आज बिहान लगभग ११ बजे ट्याक्टर दुर्घटना हुँदा दुई जना घाइते भएका हुन् ।

कर्णाली प्रदेश ०२००१ त ०३५२ नम्बरको ट्याक्टर ट्रनिङ्ग नपुगेर चिप्लीएर सडक भन्दा करीव ५० मिटर तल खसेको प्रहरीले जनाएको छ । सदरमुकाम सिमकोटदेखि ठेहेका लागि चामल लिएर गएको ट्याक्टर दुर्घटना हुँदा सिमकोट गाउँपालिका–६ माथिल्लो गाउँका ट्याक्टर चालक २७ वर्षीय धनबहादुर सुनार र सिमकोट गाउँपालिका–२ ठेहेका (सहचालक) २३ वर्षीय प्रिती सुनार घाइते भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरिक्षक नरेन्द्र चन्दले बताए ।

प्रहरीका अनुसार चालक सुनारको छातीको भित्री भागमा र सहयचालक प्रितीको ढाड, टाउको र दाहिने हातको बुढी औँला र चोर औँलामा चोट लागेको छ । घाइतेको उद्धारपछि दुवै जनाको जिल्ला अस्पताल हुम्लामा पुर्याएर उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८१ श्रावण १६ गते, बुधबार


Scroll to Top

Janata Media