प्रधानमन्त्री शेख हसिना राजिनामा दिए लगत्तै नयाँ दिल्ली नजिक अवतरण

जनता संवाददाता
२०८१ श्रावण २१ गते, सोमबार

काठमाडौँ । प्रधानमन्त्री पदबाट राजीनामा दिएर देश छाड्नुभएकी बङ्गलादेशका प्रधानमन्त्री शेख हसिना भारतको नयाँ दिल्ली नजिकैको हिन्डन एयर वेस विमानस्थलमा अवतरण गरेकी छन् ।

देशमा अशान्ति बढ्दै गएपछि प्रधानमन्त्री हसिनाले सोमबार राजीनामा दिएर देश छाडेकी हुन् । प्रधानमन्त्री हसिना भारत पुगेपनि उतैबाट बेलायत जान लागेको अन्तर्राष्ट्रिय समाचार संस्था बिबिसीले जनाएको छ ।

सोमबार बङ्गलादेशमा आरक्षणलाई लिएर चलिरहेको आन्दोलन थप व्यापक भएको छ । विद्यार्थी नेताहरूले दिएको ‘लङ मार्च टु ढाका’ को आह्वानमा हजारौँ मानिस ढाकाको उपनगरीय इलाकातर्फ र्‍याली गरिरहेका छन् । बङ्गलादेशका सेना प्रमुख वाकर–उज–जमानले सोमबार देशवासीका नाममा सम्बोधन गर्ने र अन्तरिम सरकार गठनको तयारी समेत भईरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

बङ्गलादेशमा आइतबारदेखि पुनः सुरु भएको हिंसामा हालसम्म कम्तीमा ९० जनाको मृत्यु भएको बताइएको छ । आरक्षणको विषयलाई लिएरगत गत महिना सुरु भएको प्रदर्शनमा सोमबारसम्म प्रहरी, सरकारी अधिकारी र चिकित्सकबाट एएफपीले प्राप्त गरेको तथ्याङ्कमा कम्तीमा तीन सय जनाको मृत्यु भएको पुष्टि भएको छ । बिबिसी

प्रकाशित मिति : २०८१ श्रावण २१ गते, सोमबार