काठमाडौं । बाढी र पहिरोका कारण बागमती प्रदेशका १० जिल्लामा ७४ जनाको मृत्यु भएको छ ।
बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाका अनुसार काठमाडौँ उपत्यकाका तीन जिल्ला बाहेकका १० जिल्लामा शुक्रबार र शनिबार गरी ७४ जनाको बाढी पहिरोमा परेर मृत्युभएको हो ।
प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक जितेन्द्र बस्नेतले बाढी पहिरोमा परेर हालसम्म ६० जना घाइते भएको र ३० जना बेपत्ता रहेको आइतबार दिउँसोसम्ममा विभिन्न जिल्लाको तथ्याङ्क प्राप्त भएको जानकारी दिए ।
उनले विभिन्न जिल्लामा विद्युत् लाइन विच्छेद भएको र टेलिफोन सम्पर्क हुन नसकेकोले विपत् प्रभावित क्षेत्रमा उद्धार र राहतका लागि पुग्न नसकेको बताउँदै बाढी पहिरोबाट भएको धनजनको क्षतिको थप विवरण आउने क्रम जारी रहेको बताए ।
बाढी पहिरोबाट प्रदेश प्रहरी कार्यालयको कार्यक्षेत्रभित्रका जिल्लामध्ये सबैभन्दा मानवीय क्षति धादिङ र त्यसपछि काभ्रेमा भएको छ। हालसम्म धादिङ जिल्लामा ३४ र काभ्रे जिल्लामा २१ जनाको मृत्युभएको छ । साथै काभ्रेमा सबैभन्दा बढी घाइते ३४ जना र बेपत्ता १९ जना भएका छन् ।
हालसम्म मकवानपुरमा सात जना, सिन्धुपाल्चोकमा छ जना, दोलखामा तीन जना, सिन्धुलीमा दुई जना र रामेछापमा एक जनाको बाढी पहिरोमा परेर मृत्युभएको प्रहरीको तथ्याङ्क छ ।
नुवाकोट, चितवन र रसुवामा मानवीय क्षति नभएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।







