अवरुद्ध बिपी राजमार्ग आजदेखि सञ्चालनमा

जनता संवाददाता
२०८१ आश्विन २५ गते, शुक्रबार

काठमाडौँ । बाढीपहिरोले क्षतिग्रस्त भई अवरुद्ध रहेको बिपी राजमार्ग शुक्रबारदेखि सञ्चालनमा हुने भएको छ । असोज ११ र १२ गतेको बाढीपहिरोले काठमाडौँ उपत्यकालाई पूर्वी नेपालसँग जोड्ने छोटो स्थल मार्गका रूपमा रहेको बिपी राजमार्ग अवरुद्ध भएको थियो । बाढीपहिरोले राजमार्गको विभिन्न ठाउँमा गरी करिब १२ किलोमिटरसम्म क्षति पु(याएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार सामाजिक सञ्जालाल फेसबुकमार्फत सो राजमार्ग शुक्रबारदेखि सञ्चालनमा आउने जानकारी गराउनुभएको छ । प्रधानमन्त्री ओलीले भौतिक पूर्वाधार मन्त्रालयका सचिव केशवकुमार शर्माले शुव्रmबार बिहान १० बजेसम्ममा राजमार्ग सञ्चालनमा बिपी राजमार्ग सञ्चालनमा आउने भन्दै जानकारी गराएको फेसबुकमा उल्लेख गरेका छन् ।

प्रधानमन्त्री ओलीले उल्लेख गरेका छन्, “बिपी राजमार्गमा पहिरोको अवरोध खुलाउन आफ्नो टोलीसँगै फिल्डमा रहनुभएका भौतिक पूर्वाधार मन्त्रालयका सचिव इन्जिनियर केशव शर्मासँग केहीबेर अघि टेलिफोनमा कुरा भयो । उहाँ सडक मर्मत गर्ने प्राविधिक टोलीसहित रोसी गाउँपालिका– ९ को दाउने भन्ने ठाउँमा हुनुहुन्छ । उहाँका अनुसार शुक्रबार बिहान १० बजेसम्म बिपी राजमार्ग सञ्चालनमा आउने छ । आज दिनभर र रातभर काम गर्दा बाँकी रहेको तीन ठाउँको अवरोध हट्ने छ । राजमार्ग खुलेपछि मात्र दसैँ मान्ने बताउनुभयो ।”

राजमार्ग सञ्चालनका लागि पहिरो हटाउन प्राविधिक टोलीसहित रोसी गाउँपालिकाको दाउने भन्ने ठाउँमा रहेका भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले सडक खुलाउन रातदिन नभनी काम भइरहेको बताउँदै शुक्रबारदेखि बिपी राजमार्ग सञ्चालनमा आउने जानकारी दिए ।

सङ्घीय राजधानीलाई पूर्वी नेपालसँग जोड्न मुख्य मार्गका रूपमा रहेको यस राजमार्गलाई खुलाउन ‘डेडिकेटेड टिम’ नै खटाइएको बताउँदै सचिव शर्माले अहिले अवरुद्ध रहेका ठाउँहरूमा कतै दुईतर्फी र कतै एकतर्फी सञ्चालनमा आउने स्पष्ट पारे । उनले भने, “चाडपर्व नभनी बिहीबार बिहानैदेखि प्राविधिक जनशक्ति र उपकरणहरू सडक खुलाउन लागेका छन् ।

प्रकाशित मिति : २०८१ आश्विन २५ गते, शुक्रबार


Scroll to Top

Janata Media