घुस लिएको प्रमाण देखाए आत्महत्या गर्न तयार छुः पर्यटनमन्त्री पाण्डे

जनता संवाददाता
२०८१ कार्तिक २८ गते, बुधबार

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले स्वार्थ समूहहरूसँग कुनै प्रकारको सम्झौता नगर्ने प्रतिबद्धता जनाएका छन्।

मन्त्री पाण्डेले आफ्नो काममा स्वार्थ समूहका प्रभावशाली व्यक्तिहरूले दबाब दिन खोजे पनि आफूले निष्ठाको बाटो नछाड्ने स्पष्ट पारे।

काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले आफूविरुद्ध करोडौं घुस खाएको अफवाह फैलाएकोमा असन्तोष व्यक्त गर्दै राजनीति सेवाको माध्यम हो भन्ने दृढता प्रकट गरे।

उनले भने, ‘पहिले राजनीतिक व्यक्तिहरू शक्तिशाली थिए, अहिले स्वार्थ समूहहरू बलिया भएका छन्। केही स्वार्थ समूहका मतियारहरूले मेरो मनोबल र आत्मविश्वास गिराउन खोजेका छन्, तर म निष्ठापूर्वक अघि बढ्नेछु।’

मन्त्री पाण्डेले राष्ट्रदेव पशुपतिनाथको अगाडि उभिएर घुस लिएको प्रमाण देखाए आफू आत्महत्या गर्न तयार रहेको प्रतिज्ञा पनि व्यक्त गरे।

उनले भने ‘करोड खाएको कुरा केही अनलाइनहरुलाई प्रयोग गरेर केही विचौलियाका मतियारहरुले प्रचार गरेका छन। करोड होइन कौडी खाएको दिन म पशुपतिनाथको ढोकामा आएर आत्महत्या गर्न, त्यो आत्मविश्वास र प्रतिज्ञासँग राजनीतिमा आएको मानिस हुँ।’

उनले स्वार्थ समूह र विचौलियासँग सम्झौता नगर्ने र राष्ट्रहितका लागि जस्तोसुकै कठोर कदम चाल्न तयार रहेको बताए। आफ्नो राजनीतिक जीवनमा सेवाको निष्ठा कायम राख्दै आएको र आफूलाई प्रश्न गरिनुपर्ने कुनै ठाउँ नरहेको समेत उल्लेख गरे।

मन्त्री पाण्डेले थपे, ‘राजनीति सबै खराब छ भन्ने धारणा सत्य होइन। हामीले राजनीतिलाई सुधारको बाटोमा लग्नुपर्छ, असल संस्कृतिको दिशामा अघि बढ्नुपर्छ।’ उनले पशुपति क्षेत्र विकास कोषको सन्दर्भमा पनि धर्मका नियमहरूको पालना गर्नुपर्ने जिम्मेवारीबोध व्यक्त गर्दै यदि राम्रो नगरे सजाय भोग्न तयार रहेको बताए।

मन्त्री पाण्डेले राजनीतिलाई विकृति र विसंगतिबाट टाढा राख्दै जनताको सेवामा समर्पित रहनुपर्ने धारणा राखे।

प्रकाशित मिति : २०८१ कार्तिक २८ गते, बुधबार


Scroll to Top

Janata Media