काठमाडौं । भेरी अस्पताल नेपालगन्जले आईतबारदेखि हेमोफेलियाका बिरामीका लागि अस्पतालमा नयाँ सेवा थप गर्ने जनाएको छ । सो सेवा सुरु गरिएसँगै त्यसका लागि बिरामीले काठमाडौं जानुपर्ने बाध्यताको पनि अन्त्य हुने अस्पतालले जनाएको छ ।
भेरी अस्पतालका मेडिकल सुपेरिटेण्डेन्ट डा. निराजन सुवेदीले आगामी आइतबार मंसिर १६ गतेदेखि हेमोफेलियाका बिरामीका लागि आवश्यक पर्ने ‘फ्याक्टर–८ र फ्याक्टर–९’ भेरी अस्पतालमै निशुल्क रुपमा पाउने व्यवस्था मिलाइएको जनाए । उनले भेरी अस्पतालमा यो सेवा सुरु भएसंगै पश्चिम नेपालका हेमोफेलियाका विरामीका लागि उपचारमा सहजता र सुविधा पुग्ने बताए ।
यो क्षेत्रमा सो रोगका यति नै संख्यामा बिरामी छन् भन्ने यकिन नभएको प्रष्ट पार्दै डा. सुवेदीले पहिला फ्याक्टरको अभावका कारण आपतकालिन अवस्थामा मात्र विरामी आउँथे तर अब भने नियमित उपचार हुने निश्चित भएको बताए ।
भेरी अस्पतालका मेडिकल विभाग प्रमुख तथा प्रमुख कन्सल्टेन्ट फिजिसियन डा. राजन पाण्डेले हेमोफेलियाका विरामीका लागि पनि आवश्यक पर्ने फ्याक्टर–८ र ९ नेपालगन्जको भेरी अस्पतालबाटै पाइने भएपछि बिरामीलाई निकै सहज हुने बताए । उनले काठमाडौंमा मात्रै पाइने यो सुविधा नेपालगन्जमै पाईने भएपछि बिरामीलाई संघीय राजधानी आउने जाने समय र बिरामीको अन्य खर्च पनि जोगिने बताए ।
डा. पाण्डेले विश्व हेमोफेलिया महासंघ (डब्लुएफएच), नेपाल हेमोफेलिया सोसाईटी, प्रा। डा विषेश पौडेल र भेरी अस्पतालका मेडिकल सुपेरिटेण्डेन्ट डा. निराजन सुवेदीलगायतको पहलमा सो सेवा भेरी अस्पतालमा सुरु हुन थालेको बताए ।







